चुनावको दिन सिनेमा हल खुल्छन् कि खुल्दैनन् ?

काठमाडौं । यही ३० वैशाखमा यसपटकको स्थानीय निर्वाचन हुँदै छ । सो निर्वाचनमा सहभागी हुन सबै उत्सुक छ । यसै क्रममा यसपटकको निर्वाचनलाई सफल बनाउन मुलुकका सिनेमा हल बन्द गरिने भएको छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले यसै विषयमा राजधानीसँग भने, ‘निर्वाचनको दिन उसै पनि देशभर यातायातको साधन बन्द गरिएको छ । जसका कारण दर्शक हलसम्म जाने वातावरण पनि रहँदैन ।’ उनले अगाडि थपे, ‘सबै जना चुनावप्रति केन्द्रित हुने भएकाले त्यो दिन हलसम्म दर्शक जाने अवस्था रहँदैन ।’ सोही कारण हल बन्द हुने उनले बताएका छन् ।

निर्वाचनको दिन सिनेमा हल बन्द गर्ने कि नगर्ने भनेर नेपाल चलचित्र संघले अहिलेसम्म आधिकारिक निर्णय गरेको छैन । तर, पनि आफूहरू सबै हल बन्द गर्ने पक्षमा रहेको नेपाल चलचित्र संघका महासचिव तथा प्रवक्ता अशोक शर्माले बताएका छन् ।

महासचिव शर्माका अनुसार देशभर अहिले करिब १ सय ८० वटा सिनेमा हल सञ्चालनमा छन् । ती सिनेमा हल सबै सहर केन्द्रित छन् । सबै जना निर्वाचनतर्फ केन्द्रित भएका कारण पनि त्यो दिन सिनेमा हल बन्द गर्ने पक्षमा धेरै हल सञ्चालक छन् ।

महासचिव अनुसार त्यो दिन सबैलाई मतदान गर्ने अधिकार छ । त्यसैले सिनेमा हलमा काम गर्ने कर्मचारी पनि मतदान केन्द्रसम्म मतदान गर्न जानेछन् । जसका कारण हल खोल्ने अवस्था त्यो दिन नरहेको पनि उनको भनाइ छ, ‘अर्कातर्फ सबैको ध्यान निर्वाचनमै केन्द्रित हुने भएकाले ३० गते हल खोल्नुको अर्थ पनि छैन ।’

बिहान १० देखि साँझ ५ बजेसम्म मतदान हुँदै छ । त्यसपछि मत गणना सुरु हुनेछ । यसरी बिहानदेखि साँझसम्म मतदान कार्यक्रम रहेको हुँदा दर्शक मतदान केन्द्रमा जानेछन् । त्यतिबेला सिनेमा हलमा दर्शक जाने सम्भावना अत्यन्त न्यून रहेकाले पनि ३० वैशाखमा सिनेमा हल बन्द गर्ने पक्षमा हल सञ्चालक रहेका छन् ।

बेलुकी ६ बजेपछि भने मल्टिप्लेक्सका केही सोहरू खुल्ने पक्षमा हलवाला रहेका छन् । यो विषयमा आफूहरूले कुनै दबाब नदिएको चलचित्र संघका पदाधिकारीले बताएका छन् । यद्यपि, त्यो दिन दिउँसो निर्वाचनको समयमा सबै हल बन्द गर्ने पक्षमा हल सञ्चालक रहेको संघका उपमहासचिव गोपाल कायस्थले राजधानीलाई बताएका छन् । उनका अनुसार निर्वाचनलाई असर नपरोस् भनेर उनीहरूले सिनेमा हल बन्द गर्ने भएका छन् । यो विषयमा नेपाल चलचित्र संघको बैठकले निर्णय नगरे पनि सिनेमा हल नखुल्ने पनि उपमहासचिव कायस्थले बताएका छन् ।

प्रकाशित : बुधबार, बैशाख २८, २०७९०८:२३

काठमाडौँवासीले नाक थुन्दै फोहोर टेकेर मत खसाल्नु पर्ने !