दैलेखका मतगणना स्थलमा मापसे परीक्षण !

काठमाडौँ – दैलेखका सबै स्थानीय निकायको मतगणना स्थलमा मादक पदार्थ सेवन (मापसे) परीक्षण गरिने भएको छ। मतगणना स्थलमा अनावश्यक लफडा नहोस् भन्नका लागि दैलेखका सबै स्थानीय निकायको मतगणना मापसे परीक्षण हुने भएको हो।

दैलेखका ११ वटै पालिकाका मतगणना स्थलमा मतगणनामा प्रवेश गर्ने सबैलाई मापसे परिक्षण गरिने भएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ। दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलका अनुसार त्यसको लागि सबै पालिकाका मतगणना स्थलमा एक/एक वटा ‘ब्रेथलाइजर’को व्यवस्था मिलाएको छ।

मतगणना स्थलमा प्रवेश गर्ने मतगणक, प्रहरी, सुपरीवेक्षक, दलका प्रतिनिधि सबैको मापसे परीक्षण हुनेछ। मतगणना स्थलमा होहल्ला र विवाद हुन नदिन यस्तो प्रवन्ध मिलाइएको प्याकुरेलले बताए।

मापसे चेकजाँचका लागि प्रहरीको मोबाइल टोली सबै क्षेत्रका मत गणना स्थलमा खटाइनेछ। मापसे चेकजाँचका लागि जिल्ला प्रहरी कार्यालयलाई उपकरण हस्तान्तरण गरिसकिएको छ।

प्रकाशित : बुधबार, बैशाख २८, २०७९२०:०३

मतदाता परिचयपत्र छैन ? यसरी गर्न पाइन्छ मतदान !