काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको हो ।
वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १० ले बढ्नेछ।
मूल्यवृद्धिसँगै काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर रु १७०, डिजेल÷मट्टितेलको मूल्य प्रतिलिटर रु १५४ पुगेको छ।
निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने बढाएको छैन। वृद्धि भएको मूल्य शनिबार रातिदेखि लागू हुनेछ।
सञ्चित बचत सकिएको र घाटा उच्च भएकाले इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्न रकमको अभाव भएको निगमले जनाएको छ । आइओसीलाई भुक्तानी गर्न नपुग रकम मूल्य स्थिरीकरण कोष तथा अन्य वित्तीय संस्थाबाट ऋण लिनुपर्ने बाध्यात्मक अवस्था रहेको कारण मूल्य वृद्धि गरिएको निगमको भनाई छ।