एजेन्सी – शनिबार राति प्रिमियर लिग क्लब लिभरपुलले चेल्सीलाई पराजित गर्दै एफए कपको च्याम्पियन बन्यो। टाइब्रेकरमा गएको खेलमा लिभरपुल चेल्सीलाई ६–५ ले विजयी भयो।
वेम्वली स्टेडियममा चेल्सीलाई हराएपनि शनिबारको खेल लिभरपुलका लागि महँगो हुन गयो। सो खेलमा महत्वपूर्ण दुई खेलाडी घाइते हुन पुगेसँगै लिभरपुलका लागि महँगो पर्न गएको हो।
चेल्सी विरुद्धको खेलमा लिभरपुलका मोहम्मद सलाह र भर्जिल भान डाइक घाइते भए। चेल्सी विरुद्धको खेलको ३३ औं मिनेटमा सलाह घाइते भएका थिए। प्रशिक्षक योर्गेन क्लोपले सलाहको स्थानमा डिएगो जोटालाई मैदान प्रवेश गराएका थिए।
त्यस्तै क्लोपले भान डाइकलाई पनि प्रतिष्थापन गर्न परेको थियो। खेलको ९० औं मिनेटमा उनको स्थानमा क्लोपले जोएल माटिपलाई मैदान पठाएका थिए।
लिभरपुल यति बेला सिजनकै महत्वपूर्ण अवस्थामा छ। प्रिमियर लिग र च्याम्पियन्स लिग दुवै प्रतियोगिता जित्ने दौडमा रहेका बेला दुई महत्वपूर्ण खेलाडी घाइते हुनु पक्कै पनि राम्रो संकेत होइन।
लिभरपुलले आउने दुई साताको अन्तरालमा तीन महत्वपूर्ण खेल खेल्दैछ। लिभरपुलले च्याम्पियन्स लिगको फाइनलमा रियल म्याड्रिडको सामना गर्दैछ। अबको दुई साता पछि हुने सो खेलका लागि दुवै खेलाडी उपलब्ध हुन सक्ने अनुमान गरिएको छ।