एजेन्सी – प्रिमियर लिगको महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले वेष्ट ह्यामको सामना गर्दैछ। प्रिमियर लिगको शिर्ष स्थानमा रहेको सिटीले आज साँझ वेष्ट ह्यामको सामना गर्न लागेको हो।
वेष्ट ह्यामको घरेलु मैदानमा हुने खेलमा सिटी जित निकाल्दै प्रिमियर लिग जित्ने सम्भावनालाई थप बलियो बनाउने दाउमा हुनेछ। सिटीले अहिले सम्म सिजनका ३६ खेल खेलेको छ। ३६ खेल खेल्दा सिटीले मात्रै ३ खेलमा हारेको छ भने ५ खेलमा बराबरी खेलेको छ।
बाँकी २८ खेलमा सिटीले जित निकालेको छ। सिटीको ८९ अंक छ। प्रिमियर लिगका पछिल्ला पाँच खेलमा सिटीले कुनै पनि खेलमा हारेको छैन। फेब्रुअरीमा टोटेनह्यामसँग पराजित भएयता सिटी कुनै पनि प्रिमियर लिग क्लबसँग पराजित भएको छैन।
त्यस्तै वेष्ट ह्याम भने लिगको सातौँ स्थानमा रहेको छ। वेष्ट ह्यामले पनि सिजनका ३६ खेल खेलिसकेको छ। त्यसमध्ये १६ खेलमा जित निकाल्दा उसले १३ खेलमा हार बेहोरेको छ। वेष्ट ह्यामको ५५ अंक छ। वेष्ट ह्यामले पछिल्ला पाँच खेल मध्ये एक खेलमा मात्रै जित निकालेको छ।
पछिल्लो पटक प्रिमियर लिगमा यी दुई बीच भेट हुँदा सिटी विजयी भएको थियो। त्यसबेला सिटीले दुई गोल गर्दा वेष्ट ह्यामले एक गोल मात्र गरेको थियो। सिटी र वेष्ट ह्याम बीचको खेल नेपाली समय `अनुसार साँझको ६ बजेर ४५ मिनेटमा शुरु हुनेछ। खेल भारतीय च्यानल स्टार स्पोर्ट्स सेलेक्ट वानमा हेर्न सकिनेछ।

