एजेन्सी – यो सिजनको च्याम्पियन बनिसकेको रियल म्याड्रिड स्पेनिस ला लिगामा बराबरीमा रोकिएको छ । अधिकांश दोस्रो रोजाईको टोली उतारेको रियलले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा क्याडिजसँग १–१ गोलको बराबरीमा रोकिन पुगेको हो ।
क्याडिजमा आइतबार राति भएको खेलमा रियलका मारियानो डियाजले गोल गर्दा क्याडिजका रुवेन सोब्रिनोले बराबरी गोल फर्काए । खेलको पाँचौ मिनेटमा मारियानो डियाजको गोलबाट रियलले सुरुवाती अग्रता बनाएको थियो । उनले रोड्रिगोको पासमा गोल गर्न सफल भएका थिए । ३७औं मिनेटमा रुवेन सोब्रिनोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
६१औं मिनेटमा अल्भारो नेग्रेडो पेनाल्टीमा चुक्दा क्याडिज अग्रता लिनबाट चुक्यो । लुकास पेरेजले इडर मिलिसाओलाई बिट गर्दै नेग्रेडोलाई दिएको पासमा गोलरक्षक एन्ड्री लुनिनले नेग्रेडोमाथि फउल गर्न पुगेपछि रेफ्रीले क्याडिजलाई पेनाल्टी प्रदान गर्दा नेग्रडोकै पेनाल्टीलाई लुनिनले बचाउँदै रियलको खतरा टारे । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।
रियलका प्रशिक्षक कार्लाे एन्सेलोटीले क्याडिजविरुद्ध करिम बेन्जेमा, भिनिसियस जुनियर, डेभिड अलाबा, इडुआर्डाे कामाभिंगा, थिवाउट कोर्टुवा र लुका मोड्रिचलाई विश्राम दिदा गोलरक्षक एन्ड्री लुनिन, फरवार्ड मारियानो डियाज र लामो समयपछि चोटबाट फर्किएका इडेन हाजार्डले दोस्रो हाफमा मौका पाएका थिए ।
यो बराबरीसँगै च्याम्पियन बनिसकेको रियलको ३७ खेलबाट ८५ अंक पुगेको छ । रियल दोस्रो स्थानको बार्सिलोनाभन्दा १२ अंकले अघि छ । क्याडिज ३६ अंक जोडेर १७औं स्थानमा रहेको छ ।