काठमाडौँ – काठमाडौँ महानगरपालिकामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ। मतगणना शुरु भएदेखि नै अग्रता बनाइरहेका शाहले अहिले सम्म कसैले पनि पछि पार्न सकेको छैन।
एक पछि अर्को वडाको मतपेटिका खुल्दा शाह नै अगाडी देखिरहेका छन्। आइतबार १, २, ३, ४ र ३२ को मतगणना हुँदा शाहले नै बढी मत प्राप्त गरेका थिए। सोमबार थप वडाहरुका मतपेटिका खुल्दा पनि शाह नै अगाडी देखिए।
महानगरको वडा नम्बर १ र २ को मतगणना सकिँद ती वडामा शाहले क्रमश ७८३ र एक हजार २२० मत प्राप्त गरेका थिए। जबकी नेकपा एमालेका केशव स्थापितले क्रमशः ३६५ र ७२८ मत प्राप्त गरेका थिए। वडा नम्बर १ र २ मा नेपाली कांग्रेसकी सिर्जना सिंहले ४५१ र ४९७ मत प्राप्त गरेकी थिइन्।
दुवै वडाको अध्यक्षमा एमालेले बाजी मारेपनि मेयरका लागि भने बालेनलाई नै मत खस्यो। मतगणना सम्पन्न भएका वडामा मात्र नभई मतगणना भैरहेका सबै वडाहरुमा पनि बालेनको अग्रता कायम छ।
सोमबार राति प्राप्त मतपरिणाम अनुसार शाहले अहिले सम्म ८ हजार २४८ मत पाएका छन् । वडा नम्बर १ र २ को मतगणना सकिएर अहिले वडा नम्बर ३,४,५,६, ३२ र ३२ को गणना राष्ट्रियसभागृहमा जारी छ ।
मतगणना जारी रहँदा एमालेका उम्मेदवार केशव स्थापित ४३४२ मतका साथ दोस्रो स्थानमा छन् भने ३७८१ मतका साथ तेस्रो स्थानमा काँग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठ रहेकी छन् ।
बालेनको मत निकटतम प्रतिद्वन्द्वी एमालेका स्थापितको भन्दा ३९०६ ले बढी हो । बालेनले निकटतम प्रतिद्वन्द्वी एमालेका स्थापितको अघिल्लो अपडेटभन्दा २११ले मतान्तर बढाएका छन् ।