पछि परेको अवस्थामा लिभरपुलको पुनरागमन जित, उपाधिको टुंगो अन्तिम खेलमा लाग्ने !

एजेन्सी – प्रिमियर लिगमा लिभरपुलले महत्वपूर्ण जित निकालेको छ। प्रिमियर लिग दौडमा रहेको लिभरपुलले मंगलबार राति महत्वपूर्ण जित निकालेको हो। मंगलबार राति भएको साउथह्याम्टन विरुद्धको खेलमा लिभरपुल २-१ को गोल अन्तरले विजयी भयो।

लिभरपुलका लागि जोएल म्याटिप र ताकुमी मिनामिनोले गोल गर्दा साउथह्याम्टनका लागि नाथन रेडमन्डले गोल गरेका थिए। खेलको १३ औं मिनेटमै पछि परेपनि लिभरपुलले पुनरागमन गर्न सफल भयो।

एफए कपमा चेल्सीलाई पराजित गरेपछिको केहि दिनमै साउथह्याम्टनको सामना गर्नु पर्दा लिभरपुलले झन्डै नौ परिवर्तन गरेको थियो। तर पनि लिभरपुलले जित निकाल्न सक्यो।

खेलभर बलमा लिभरपुलकै नियन्त्रण रह्यो। लिभरपुलले बलमा ७१ प्रतिशत पकड बनाएको थियो। लिभरपुलको तर्फबाट कुल २४ प्रहार भएका थिए। जस मध्ये ६ प्रहार टार्गेटमा थिए। त्यस्तै साउथह्याम्टनको तर्फबाट भने मात्रै ४ प्रहार भएका थिए। त्यसमा दुई प्रहार मात्र टार्गेटमा थिए।

साउथह्याम्टन विरुद्ध जित निकालेसँगै लिभरपुल उपाधि होडमा यथावत रहेको छ। ३७ खेलबाट लिभरपुलले ८९ अंक बनाएको छ। लिभरपुल शिर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा मात्रै एक अंकले पछाडी छ। त्यस्तै साउथह्याम्टन भने ४० अंक सहित लिगको १५ औं स्थानमा छ।

उपाधिको टुंगो अन्तिम खेलमा

प्रिमियर लिग उपाधिको टुंगो अब सिजनको अन्तिम खेलबाटै लाग्ने भएको छ। दुई क्लब बीच मात्रै एक अंकको अन्तर रहेको अवस्थामा सिजनको अन्तिम खेलमा सिटी पराजित भए अथवा सिटीले बराबरी खेले मात्रै लिभरपुलले प्रिमियर लिग जित्ने सम्भावना रहनेछ। त्यसको लागि लिभरपुलले पनि सिजनको अन्तिम खेलमा जित निकाल्नु पर्नेछ।

प्रकाशित : बुधबार, जेठ ०४, २०७९०७:२०

सलाह र भर्जिल भान डाइक रियल विरुद्धको खेलका लागि उपलब्ध होलान् ?