भरतपुर – भरतपुर महानगरपालिकामा नौवटा वडाको मत गणना सकिएको छ । वडा नम्बर १ देखि ९ सम्मको गणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार गणना सम्पन्न भएका वडामा अधिकांश पाँच दलीय गठबन्धनका वडाध्यक्ष निर्वाचित भएका छन् । वडा नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार निर्वाचित भए पनि अन्य वडामा गठबन्धनबाट उम्मेदवारी दिएका उम्मेदवार विजयी भएका हुन् ।
भरतपुर महानगरपालिका वडा नम्बर १, २, ४, ५, ६, ८ नेपाली कांग्रेस, ७ र ९ नेकपा समाजवादीका उम्मेदवारले विजय हासिल गरेका हुन् । अहिले वडा नम्बर १० र ११ को मत गणना १५ ठाउँमा भइरहेको छ । गणना भइरहेका दुई वडासहित अहिलेसम्म ४५ हजार ६० मतगणना गरी सकिएको छ ।
महानगरपालिकाको मतगणनाका क्रममा महानगर प्रमुखको उम्मेदवारमा पाँच दलीय गठबन्धनबाट उम्मेदवार बन्नुभएकी नेकपा माओवादी केन्द्रकी रेनु दाहाल तीन हजार २७९ मतले अग्र स्थानमा रहेकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले १३ हजार ४१० मत प्राप्त गर्दा दाहालले १६ हजार ६८९ मत प्राप्त गरेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले छ हजार ९१५ मत प्राप्त गरे।
उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङ्गलाई आठ हजार ५३३ मत अन्तरले पछि पार्दे अघि बढेका छन् । उनले १९ हजार ३१२ मत प्राप्त गर्दै गर्दा गुरुङले १० हजार ७७९ मत प्राप्त गरे।
गणना भइरहेका वडामध्ये १० मा गठबन्धनबाट कांग्रेसका उम्मेदवारले अग्र स्थान लिएका छन् भने वडा नम्बर ११ मा नेकपा एमाले उम्मेदवारले अग्रता लिएका छन् ।