काठमाडौँ – भरतपुर महानगरपालिकाको जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ। नेकपा एमालेका उम्मेदवारसँग कडा टक्करका बीच गठबन्धनले अग्रता कायम राखेको हो।
यो समाचार तयार पर्दै गर्दा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार रहेकी रेणु दाहालले आफ्नो अग्रतालाई झनै बढाएकी छन्। ४६ हजार ८ सय ९९ मत गणना हुँदा रेणुले १७ हजार ७ सय ९४ मत प्राप्त गरेकी छन्।
उनलाई निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १४ हजार ४ सय ८१ मत सहित पछ्याइरहेका छन्। दाहाल र सुवेदी बीच ३ हजार ३ सय १३ मतको अन्तर छ।
त्यस्तै स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलले ७ हजार १ सय ९८ मत ल्याएका छन्। अहिले वडा नम्बर ९ १० र ११ को मतगणना भइरहेको छ। नेकपा एमालेको प्रभाव भएको वडा भनिएपनि दुवै वडाको मत दाहाललाई गएको देखिन्छ।
भरतपुर महानगरपालिकामा नौवटा वडाको मत गणना सकिएको छ । वडा नम्बर १ देखि ९ सम्मको गणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार गणना सम्पन्न भएका वडामा अधिकांश पाँच दलीय गठबन्धनका वडाध्यक्ष निर्वाचित भएका छन् । वडा नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार निर्वाचित भए पनि अन्य वडामा गठबन्धनबाट उम्मेदवारी दिएका उम्मेदवार विजयी भएका हुन् ।
भरतपुर महानगरपालिका वडा नम्बर १, २, ४, ५, ६, ८ नेपाली कांग्रेस, ७ र ९ नेकपा समाजवादीका उम्मेदवारले विजय हासिल गरेका हुन् ।