नयाँ प्रशिक्षक टेन हागले पूरा गर्ने भए रोनाल्डोको इच्छा !

एजेन्सी – म्यानचेस्टर युनाइटेडले डच प्रशिक्षक एरिक टेन हागलाई क्लबको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ । यस्तोमा क्लबका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको भविष्य के होला भन्ने चौतर्फी चासोको विषय बनेको छ ।

रोनाल्डोको सम्झौता क्लबसँग अझै एक वर्षका लागि रहेको छ । प्रशिक्षक टेन हागले पनि आफू रोनाल्डोसँग सहकार्य गर्न उत्साहित रहेको अभिव्यक्ति दिइसकेका छन् । यस्तोमा रोनाल्डोले पनि क्लबसँग अर्को सिजनका लागि आफ्नो इच्छा व्यक्त गरेका थिए । त्यसमा प्रशिक्षक टेन हाग पनि सहमत रहेको बुझिएको छ ।

रोनाल्डोले आफू क्लबमा अर्को सिजन पनि रहने तर त्यसका लागि क्लबले आफूलाई सहयोग पुग्ने खेलाडी भित्र्याउन माग गरेका थिए । यस सिजन रोनाल्डोसँग समन्वय गरेका उरुग्वेली फरवार्ड एडिन्सन काभानीले क्लब छाड्दैछन् । एन्थोनी मार्सियलका लागि पनि युनाइटेडले बाटो खुला गरेको छ । क्लबमा हाल फरवार्डको भूमिकामा मार्कस रासफर्ड मात्र रहेका छन् ।

रोनाल्डोले आफूलाई आक्रमणमा सहयोग गर्न क्लबले राम्रो खेलाडी अनुबन्धन गर्नुपर्ने बताएका छन् । टेन हागले पनि रोनाल्डोको यो अन्तिम सिजन रहेकाले नयाँ खेलाडीलाई अहिले रोनाल्डोसँग सहकार्य गराउने र अर्को सिजन आक्रमण नेतृत्व गर्न तयार पार्ने लक्ष्य राखेका छन् । युनाइटेडले बेन्फिकाका उरुग्वेली फरवार्ड डार्विन नुनेजलाई नजरमा राखेको छ ।

नुनेजले यस सिजन ३४ गोल गरे । च्याम्पियन्स लिगमा लिभरपुलविरुद्ध भएको क्वाटरफाइनलमा उनले दुवै लेगमा गोल गरेका थिए । च्याम्पियन्स लिगमा उनले कुल ६ गोल गरे । नयाँ सिजनका लागि आफ्नो एजेन्ट परिवर्तन गर्ने बताएका उनी नयाँ क्लब जाने सम्भावना रहेको छ ।

रोनाल्डोले क्लबमा अर्का सेन्टर फरवार्डको आगमनले उनलाई सहयोग पुग्ने तथा क्लबलाई पनि फाइदा पुग्ने जानकारी दिएका छन् । रोनाल्डोले मुख्य फरवार्ड भन्दापनि बायाँ भागमा खेल्दा आफूलाई सहज हुने बुझेका छन् । उनले करिअरको अधिकांश समय रियल म्याड्रिड र युभेन्टसमा सोही भूमिका निर्वाह गरेका थिए । युनाइटेडमा भने फरवार्ड नहुँदा उनी मुख्य स्ट्राइकर बनेका थिए ।

प्रकाशित : शुक्रबार, जेठ ०६, २०७९१०:५९

एन्सेलोटीलाई थाहा छ च्याम्पियन्स लिग फाइनलमा लिभरपुललाई कसरी पछार्ने !