धुलिखेलको प्रमुखमा एमाले, काभ्रेबाट एमाले पत्तासाफ हुनबाट बच्यो !

काठमाडौँ – काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का अशोककुमार व्याञ्जु श्रेष्ठ र उपप्रमुखमा नेपाली कांग्रेसका निराजन जङ्गम विजयी भएका छन् । आज सम्पन्न मतगणनाको परिणामअनुसार व्याञ्जुले आठ हजार ३५१ मत र उपप्रमुख पदका उम्मेदवार जङ्गमले सात हजार ९३८ मत प्राप्त गरी विजयी भएका हुन् ।

प्रमुख पदको निकटतम प्रतिस्पर्धी स्वतन्त्रबाट उम्मेदवार बन्नुभएका विदुरबहादुर बस्नेतले सात हजार ४११ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा निकटतम प्रतिस्पर्धी एमालेका लालतारा अधिकारीले सात हजार ७९१ मत प्राप्त गरेकी छन् ।

धुलिखेल नगरपालिकाको प्रमुखमा विजयी व्याञ्जु दोस्रो पटक नगर प्रमुखमा विजयी भएका हुन् । गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजदावी)का प्रमुखका उम्मेदवार दयासागर श्रेष्ठले भने एक हजार ८१९ मत प्राप्त गरेका छन् । कांग्रेसभित्र उम्मेदवार छनोटमा कुरा नमिलेपछि कांग्रेसको धुलिखेल नगर समिति सभापतिसमेत रहेका विदुरबहादुर बस्नेतले स्वतन्त्रबाट जेब्रा चुनाव चिन्हमा नगर प्रमुखको उम्मेदवारी बनेका छन् ।

नगरपालिकाको वडामध्ये–१ मा कांग्रेसका सन्तबहादुर लामाले ५७३ मत प्राप्त गरी विजयी भएका छन् भने वडा नं २ मा एमालेका अर्जुन न्यौपानेले एक हजार चार मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै वडा नं ३ मा एमालेका गणेश आचार्यले ६४३ मत, वडा नं ४ मा कांग्रेसका उत्तमप्रसाद तिमल्सिनाले ६७५ मत, वडा नं ५ मा एमालेका प्रमोदसुन्दर श्रेष्ठले ७७३ मत र वडा नं ६ मा कांग्रेसका सञ्जय कोजुले एक हजार ४४ मत प्राप्त गरी विजयी भएका छन् ।

त्यसैगरी वडा नं ७ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका रोमीप्रसाद श्रेष्ठले ८५७ मत, वडा नं ८ मा कांग्रेसका विनोद गौतमले ७५७ मत, वडा नं ९ मा कांग्रेसका बद्रीप्रसाद हुमागाईंले एक हजार १९६ मत, वडा नं १० मा कांग्रेसका गोविन्दप्रसाद उपाध्यायले ५४३ मत, वडा नं ११ मा एमालेका नारायणप्रसाद बडालले एक हजार १२७ मत र वडा नं १२ मा एमालेका मोहनप्रसाद लामिछानेले ८३३ मत प्राप्त गरी विजयी भएका छन् ।

तेह्र वटा स्थानीय तह रहेको जिल्लामा ११ वटा पालिकाको मत गणना सम्पन्न भएको छ भने बाँकी दूई वटामा पाँचखाल नगरपालिका र डाँडापारिस्थित महाभारत गाउँपालिकाको मतगणना जारी छ ।

पाँचखाल नगरपालिकाको वडा नं १३ कोशिदेखास्थित श्रीराम मावि मतदान केन्द्रमा वैशाख ३० गते भएको मतदानको बेला मतपत्र वितरणको क्रममा विवाद उत्पन्न भएपछि स्थगित भएको मतदान पुनः जेठ ३ गते सम्पन्न गरेको थियो । जसको कारण मतगणना ढिला हुनगएको हो । महाभारत गाउँपालिकाको भने मतगणना जारीरहेको निर्वाचन अधिकृत खुबिराम अधिकारीले बताए।

प्रकाशित : शुक्रबार, जेठ ०६, २०७९१९:५९

भरतपुर महानगरमा ३१ हजार मत गन्न बाँकी, रेनु आठ हजार २९५ मतले अगाडी !