मुगु । भ्रष्टचार नगर्ने र कमिसन नखाने भन्दै एक जना नवनिर्वाचित नगरप्रमुखले मष्टो भाकेर पदभार ग्रहण गरेका छन् । मुगुको छायानाथ रारा नगरपालिकाका नव निर्बाचित मेयर बिष्णुकुमार भामले थार्पमष्टो, ऋणमोक्ष र छायानाथ ठाकुर ज्यूको घण्ट छोएर कसम खादै शुक्रबार पदभार ग्रहण गरेका हुन् ।
नेपाली कांग्रेबाट विजयी नगर प्रमुख भामले मष्ट र अन्य देवताको घण्ट छोएर भ्रष्टचार नगर्ने, कमिसन नखाने र सेवाग्राहीलाई दुःख कष्ट नदिने कसम खाएका हुन् । कार्यलयमा आयोजित पदभार ग्रहण कार्यक्रममा नगर प्रमुख भामले आफनो यो ५ बर्षे कार्यकालमा सेवाग्राहीलाई कुनै दुःख कष्ट नहोस् भन्दै देउताका नामका घण्ट छोएका थिए ।
त्यति मात्र होइन पदभार ग्रहण कार्यक्रममा उनले जनताको नाममा आएको रकमप्रति नजर नलगाउने स्थानीयलाई सेवाप्रवाह छिटो छरितो गर्ने बाचा कसम पनि खाए । प्रसिद्ध देवताका २ वटा घण्ट समातेर पदभार सम्हाल्दैगर्दा नगरप्रमुख केही भावुक पनि देखिएका थिए ।
उनले नगरपालिकाबाट प्राप्त हुने कुनै पनि सेवा सुबिधा नलिने घोषणा समेत गरेका छन् । आफुले पाउने यो ५ बर्षको पारिश्रमिकबाट १ देखि १४ वडाका बिरामीका लागि एम्बुलेन्स उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।नगरका सम्पूर्ण बस्तीमा विद्युत सेवा बिस्तार गर्ने, गमगढी बजारलाई स्वच्छ सफा राख्ने तथा नगरबासीलाई स्वच्छ खानेपानीको व्यावस्था मिलाउने पनि नगरप्रमुख भामले बाचा कसम खाएका छन् ।
यस अघिका वडाअध्यक्ष भामले आफ्नो ५ बर्षको पारिश्रमिक वापत पाउने रकमबाट नगरका सबै बस्तीका गरिव, दलित र जेहेन्दारलाई राहत वितरण गरेका थिए । भाम ४५९९ मतका साथ विजय भएका हुन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार डम्बरबहादुर रावलले ३,८६० मत ल्याएका थिए ।
-सौर्य दैनिकबाट