एजेन्सी – म्यानचेस्टर सिटीका बेल्जियन मिडफिल्डर केभिन डे ब्रुएना प्रिमियर लिगको उत्कृष्ट खेलाडी घोषित भएका छन्। प्रिमियर लिगका विभिन्न खेलाडीहरुलाई पछि पार्दै ब्रुएना जारी सिजनको उत्कृष्ट खेलाडी घोषित भएका हुन्।
प्रिमियर लिग प्लेयर अफ द सिजनको अवार्ड जित्नेक्रममा ब्रुएनाले लिभरपुलका स्टार फुटबलर मोहम्मद सलाहलाई पछि पारे। ब्रुएना प्रिमियर लिगको जारी सिजनमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। सिजनको एक खेल मात्र बाँकी रहेको अवस्थामा उनले १५ गोल गरिसकेका छन्। २९ खेल खेल्दा उनको नाममा ७ असिस्ट पनि छ।
सिजनको उत्कृष्ट खेलाडी घोषित हुनेक्रममा उनले सलाहलाई मात्र नभई सिटीकै जोआओ क्यान्सेलो, लिभरपुलका विंग ब्याक ट्रेन्ट अलेक्ज्याण्डर-अर्नोल्ड, वेस्ट ह्यामका जारोड बोवेन, टनह्यामका सन ह्युङ-मिन र साउथह्याम्प्टनका जेम्स वार्ड-प्रोसेलाई समेत पछि पारे।
ब्रुएना प्रिमियर लिग प्लेयर अफ द सिजनको अवार्ड जितेको यो दोस्रो पटक हो। यस भन्दा अगाडी पनि ब्रुएनाले यो अवार्ड जितिसकेका छन्। उनले सन् २०१९-२० को सिजनमा पनि सो अवार्ड जितेका थिए।
प्रिमियर लिग प्लेयर अफ द सिजनको अवार्ड जितेपछि ब्रुएनाले दोस्रो पटक अवार्ड जित्न सक्दा धेरै गर्व लागेको बताए। सिटीको आधिकारिक वेबसाइटसँग कुराकानी गर्नेक्रममा प्रिमियर लिग जस्तो प्रतिष्पर्धात्मक लिगको उत्कृष्ट खेलाडी हुनु गर्वको कुरा रहेको उनको भनाई छ।