सिजनको अन्तिम खेलमा एमबाप्पेको ह्याट्रिक !

एजेन्सी – फ्रान्सेली युवा फरवार्ड केलियन एमबाप्पेको ह्याट्रिक मद्दतमा यो सिजनको फ्रेन्च लिग वान च्याम्पियन बनिसकेको पिएसजीले सिजनको अन्तिम खेलमा सानदार जित निकालेको छ ।

पिएसजीले घरेलु मैदानमा १० खेलाडीमा समेटिएको मेट्जमाथि ५–० को फराकिलो जित आत्मसात गरेको हो । पिएसजीको जितमा एमबाप्पेले ह्याट्रिक पुरा गर्दा नेयमार र एन्जल डि मारियाले समान एक गोल थपे ।

पार्क डेस प्रिन्सेसमा शनिबार राति गोलको वर्षा भएको खेलको २५औं मिनेटमा एमबाप्पेको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिन सफल भयो । उनले एन्जल डि मारियाको पासमा गोल गर्न सफल भएका थिए । २८औं मिनेटमा एमबाप्पेले लियोनेल मेस्सीको पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरे ।

३२औं मिनेटमा नेयमारले गोल गर्दै पिएसजीलाई पहिलो हाफमा ३–० ले अघि बढाए । ५०औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पुरा गर्दा पिएसजी खेलमा ४–० ले अघि बढ्यो । ५८औं मिनेटमा बोउबाकार दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पाहुना टोली मेट्ज १० खेलाडीमा समेटिन पुग्यो ।

त्यसपछि यो सिजनको अन्त्यसँगै पिएसजी छाड्ने घोषणा गरिसकेका एन्जल डि मारियाले ६७औं मिनेटमा गोल गर्दै पिएसजीलाई सानदार जित दिलाउँदै लिगको सुखद् अन्त्य गराए ।

यो जितसँगै पिएसजीले ३८ खेलबाट ८६ अंक जोड्यो । पराजित मेट्ज ३१ अंक जोडेर १९औं स्थानमा रहेर रेलिगेसनमा परेको छ ।

अन्य नतिजा : एन्जर्सविरुद्ध मोन्टपेलिएर (२–०), ब्रेस्टविरुद्ध बोर्डो (२–४), क्लेरमोन्ट फुटविरुद्ध लियोन (१–२), लेन्सविरुद्ध मोनाको (२–२), लिलविरुद्ध रेन्नेस (२–२), लोरिएन्टविरुद्ध ट्रोएस (१–१), मार्सेविरुद्ध स्टार्सवर्ग (४–०), नान्टेसविरुद्ध सेन्ट इटिएन (१–१) र रेइम्सविरुद्ध नाइस (२–३)

प्रकाशित : आइतबार, जेठ ०८, २०७९०९:१९

एम्बाप्पेले मेस्सी-रोनाल्डो बन्न छाडेर रोजे नेयमार बन्ने बाटो ?