नाटकीय खेलमा जित निकाल्दै सिटी बन्यो प्रिमियर लिग च्याम्पियन !

एजेन्सी – म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग २०२१-२२ को उपाधि जितेको छ । निकै रोमान्चक अन्तिम दिनको खेलमा २ गोलले पछि परेको स्थितिबाट उत्कृष्ट पुनरागमन गर्दै सिटी च्याम्पियन बनेको हो ।

सिटीले एस्टन भिल्लालाई ३-२ ले पराजित गर्दा दोस्रो स्थानको लिभरपुलले पनि अन्तिम खेलमा वल्भ्समाथि जित दर्ता गर्यो । १ गोलले पछि परेको लिभरपुलले अन्तिममा ३-१ को जित दर्ता गरेपनि उपाधि जित्न सकेन । समग्रमा सिटी ३८ खेलमा ९३ अंकसाथ उपाधि जोगाउन सफल रहयो । यता लिभरपुल ३८ खेलमा ९२ अंकसाथ दोस्रो भयो ।

एक समय २-० ले पछि परेको सिटी उपाधि गुमाउने संघारमा रहेको थियो । खेलमा म्याटी क्यासले एस्टन भिल्लालाई पहिलो हाफमा अग्रता दिलाएका थिए । उनले ३७ औं मिनेटमा लुकास डिग्नको पासलाई सदुपयोग गर्दै घरेलु मैदान म्यानचेस्टर सिटीका समर्थकलाई स्तब्ध पारेका थिए ।

दोस्रो हाफमा सिटीले आक्रामक सुरुवात गरेपनि गोल गर्न भने सकेन । ठिक विपरित निकै रक्षात्मक देखिएको भिल्लाले काउन्टर अट्याकमा अग्रता दोब्बर पार्यो । ६९ औं मिनेटमा ओली वाटकिन्सको पासमा कोउटिन्होले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारमा गोलरक्षक एडरसनले कुनै प्रतिक्रिया जनाउन सकेनन् ।

७६ औं मिनेटमा इल्काए गुन्डोगनको पासमा रहिम स्टर्लिङले गोल गर्दै सिटीलाई खेलमा फर्काए । त्यसको दुई मिनेट नबित्दै सिटीले बराबरी गोल पनि फर्कायो । ओलेक्जेन्डर जिन्चेन्कोको पासलाई रोड्रीले पेनाल्टी क्षेत्र बाहिरबाट सुन्दर गोल गरेपछि खेल बराबरीमा आएको थियो ।

बराबरी गरेको दुई मिनेटपछि नै सिटीले अग्रता पनि लियो । केभिन डे ब्रुएनको क्रसमा गुन्डोगनले ६ यार्ड बक्स भित्रबाट गोल गर्दै सिटीलाई अप्रत्याशित अग्रता दिलाए ।

यता अर्को तर्फ लिभरपुल खेलको तेस्रो मिनेटमा नै पछि परेको थियो । पेड्रो नेटोले राउल जिमिनेजको पासलाई सदुपयोग गर्दै एनफिल्डका समर्थकलाई निराश पारेका थिए । २४ औं मिनेटमा साडियो मानेले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले थियागो अलाकान्ट्राको पासलाई गोलमा परिणत गरेका थिए ।

दोस्रो हाफमा एक समय सिटी २-० ले पछि पर्दा लिभरपुललाई उपाधि होडमा अघि बढ्न १ गोल आवश्यक थियो । तर सिटीले आफ्नो खेलमा लगातार ३ गोल गर्दै ३-२ को अग्रता लिएपछि मात्र लिभरपुल अघि बढ्न सक्यो । ८४ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई अघि बढाए । ८९ औं मिनेटमा एन्डी रोबर्टसनले गोल गर्दै लिभरपुलको जित सुनिश्चित गरे ।

दुवै टोलीले जित हात पारेपछि सिटी १ अंकको अग्रतासहित लिग च्याम्पियन बन्न सफल रहयो ।

प्रकाशित : आइतबार, जेठ ०८, २०७९२२:४४

११ वर्षपछि मिलान बन्यो सिरी ‘ए’ च्याम्पियन !