काठमाडौँ – रिभर फल्स पावर लिमिटेडले निष्काशन गरेको साधारण शेयर(आईपीओ)को बाँडफाँड सम्पन्न भएको छ। कम्पनीले बैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म निष्काशनमा ल्याएको आईपीओको बाँडफाँड सोमबार अपरान्ह सम्पन्न भएको हो।
कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित दरमा २७ लाख ३० हजार कित्ता शेयर बिक्री गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको थियो। त्यसमध्ये दुई प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता कम्पनीका कर्मचारी र पाँच प्रतिशत अर्थात एक लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याई बाँकी रहेको २५ लाख ३८ हजार ९०० कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो।
आवेदन खुल्ला भएपछि २ करोड १२ लाख ५९ हजार ५७० कित्ताका लागि आवेदन परेको थियो। १८ लाख ५० हजार २७७ जना सर्वसाधारणले २ अर्ब १२ करोड ५९ लाख ५७ हजार रुपैयाँ बराबरको आवेदन दिएका थिए।
अन्तिम दिनसम्ममा १८ लाख ५९ हजार २ सय ४२ जना लगानीकर्ताहरू आवेदन दिएकोमा ५३ हजार ८ सय २ जनाको आवेदन रद्द भएको थियो। बाँकी १८ लाख ५ हजार ४ सय ४० जना याेग्य लगानीकर्तालाई शेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार लक्की नम्बर २ रहेको छ।
योग्य मध्येबाट २ लाख ५३ हजार ८ सय ९० जना लगानीकर्ताले १० कित्ताका दरले शेयर पाएका छन्। बाँकी १५ लाख भन्दा बढीको हात रित्तो भएको छ।

