कांग्रेसी नेताले बालेनसहितका स्वतन्त्र उम्मेदवारलाई ‘हावा’को संज्ञा दिएपछि …

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बालेन शाहसहितका स्वतन्त्र उम्मेदवारलाई कहिलेकाहीँ चल्ने ‘हावा’को संज्ञा दिएका छन्। सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा महतले स्वतन्त्र उमेदवारहरुले हाँसिल गरिरहेको सफलतालाई कहिलेकाहीँ चल्ने हावाको संज्ञा दिएका हुन्।

महतले देशका केही ठूला सहरमा स्वतन्त्र उम्मेदवार अघि बढेको कुरालाई लिएर पार्टीहरू असफल भए भन्ने निस्कर्ष निकाल्न नसकिने बताए। निर्वाचनमा जहिले पनि केहि अपवाद हुने र अहिले स्वतन्त्र उम्मेदवारको सफलता पनि त्यस्तै रहेको महतको भनाई छ।

“केही अपवाद जहिले पनि हुन्छ निर्वाचनमा । यतिधेरै स्थानीय तहहरु छन् । केही अपवादलाई लिएर पार्टीहरु असफल भए, नेपाली कांग्रेस असफल भयो भन्ने निस्कर्षमा पुग्न सकिदैन।”,महतले भने।

महतले दलहरूभन्दा बाहिरबाट जिताइयो भने केहि हुन्छ की भनेर जनताले स्वतन्त्रलाई जिताउने गरिएको बताए। अपवाद काठमाडौं महानगरपालिकामा पनि देखिएको उनले जनाए । काठमाडौं महानगरपालिकाको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाह नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारभन्दा निकै अगाडी रहेका छन् ।

उनले भने,”राजनीतिमा कहिलेकाहीँ त्यस्तो हावा चल्छ । दलहरूभन्दा बाहिरबाट जिताइयो भने त्यसले पो केही गरिहाल्छ कि भनेर मान्छेहरूलाई लाग्न सक्छ। काठमाडौंमा पनि त्यही भयो। केही ठाउँमा स्वतन्त्रले जिते अग्रता आयो भन्दैमा त्यसले दलीय व्यवस्थालाई नै कमजोर बनायो भन्ने हुँदैन। “

प्रकाशित : सोमबार, जेठ ०९, २०७९१७:२८

रेनु दाहालको अग्रता थप बढ्यो !