काठमाडौँ – मतगणना नसकिँदै भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल विजयी भएकी छन्। गणना हुन बाँकी मत भन्दा बढीको अग्रता बनाएसँगै दाहाल मतगणना सकिनु भन्दा अगाडी नै मेयरमा विजयी भएकी हुन्।
पछिल्लो मतगणनाअनुसार रेनु दाहालले ४७ हजार मत कटाएकी छन् । १ लाख १६ हजार ६६६ मतगणना हुँदा ४७ हजार ४० मत ल्याएकी छन्। उनी पछिल्लो अपडेट अनुसार ११ हजार ५४७ मतले अग्रता लिएकी छन्।
महानगरपालिकामा खसेको कुल मतमध्ये ११ हजार १७३ मत गन्न बाँकी छ। गणना हुन बाँकी मत भन्दा मतान्तर धेरै भएसँगै दाहालले जित्ने निश्चित भएको छ। दाहालका निकटतम प्रतिद्वन्दी एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदीले ३५ हजार ५८३ मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेल १४ हजार २६३ मतका साथ चुनावी प्रतिस्पर्धामा छन् । यस्तै महानगरपालिकाको उपमेयर पदमा नेपाली काँग्रेसका चित्रसेन अधिकारी पनि मत गणना गर्न बाँकी हुँदा नै विजयी भएका छन् । अधिकारीले ४७,९५८ मत पाउँदा राप्रपाकी हिमला गुरुङले २७,९२२ पाएकी छन्।