एम्बाप्पेले भने – ‘म पैसाको पछि लागेको होइन’

एजेन्सी – फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेले पैसाका लागि पेरिसमा बसेको भन्ने आरोपहरुमा अलिकति पनि सत्यता नरहेको बताएका छन्। एक अन्तर्वार्ताका क्रममा एम्बाप्पेले आफू पैसाका लागि पेरिस सेन्ट जर्मेन(पिएसजी)मा नरहेको बताएका हुन्।

स्पेनिस पत्रिका मार्काले हालसालै अन्तर्वार्ता लिनेक्रममा एम्बाप्पेलाई ‘पैसाको लागि पेरिसमा बसेको भन्ने आरोप बारे के सोच्नुहुन्छ?’ भनेर प्रश्न गर्यो। त्यसक्रममा एम्बाप्पेले आफू कहिल्यै पनि पैसाको कुरा नगर्ने बताए।

कुनै पनि क्लबसँग कुराकानी गर्नेक्रममा पैसा बारे आफूले कहिले पनि कुरा नगरेको र नगर्ने एम्बाप्पेको भनाई छ। आफू पैसा भन्दा पनि फुटबलमा मात्र केन्द्रित हुने एम्बाप्पेले बताए।

“म अलि दुःखी छु किनभने मैले फुटबल खेल्न थालेदेखि नै फुटबलमा मात्र केन्द्रित हुने प्रयास गरिरहेको छु। मैले सधैं फुटबल, उपाधि, महत्त्वपूर्ण खेल बारे मात्रै कुरा गरेको छ। मैले कहिल्यै पैसाको बारेमा कुरा गरेको छैन। मानिसहरूले आफूले चाहेको बारेमा कुरा गर्न सक्छन्, तर मलाई सबैले चिन्छन्।”,एम्बाप्पेले भने।

रियल म्याड्रिडसँग कुराकानी गरेको भएपनि आफूले कहिल्यै आर्थिक पक्ष बारे कुरा नगरेको पनि एम्बाप्पेले स्पष्ट पारे। रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेज र पिएसजी अध्यक्ष नासेर अल खेलैफीसँग कुराकानी गर्न पैसा बारे कुरा नगरेको एम्बाप्पेको दावी छ।

उनले भने,”मैले रियल म्याड्रिडमा सबैसँग कुरा गरेको छु, मैले पीएसजीसँग कुरा गरेको छु। उनीहरुलाई पनि थाहा छ रियल फ्लोरेन्टिनो पेरेज र पिएसजी अध्यक्ष नासेर अल खेलैफीसँग पैसाको बारेमा कहिल्यै कुरा गरेको छैन। मेरो वकिलले पैसाको बारेमा कुरा गरे। मेरी आमाले पनि त्यस बारे कुराकानी गर्नु भयो। म आफैंले भने पैसा बारे कसैसँग कुरा गरेको छैन।”

प्रकाशित : मङ्गलबार, जेठ १०, २०७९११:०४

“रियल म्याड्रिड जाने ढोका बन्द भएको छैन”