रेणुले जितेपनि चितवनमा एमालेको तहल्का, बन्यो सबैभन्दा बढी जनप्रतिनिधि भएको पार्टी !

चितवन – स्थानीय तहको निर्वाचनमा जिल्लामा नेकपा एमालेले सबैभन्दा बढी जनप्रतिनिधि जिताउन सफल भएको छ । भरतपुर महानगरपालिकामा नेपाली कांग्रेस बलियो देखिएको छ ।

भरतपुर महानगरपालिकाको मतगणना आज सम्पन्न भएसँगै जनप्रतिनिधिको तथ्याङ्क आएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले सार्वजनिक गरेको समग्र तथ्याङ्कलाई हेर्दा भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकामा नेपाली कांग्रेसको एक्लै बहुमत रहेको छ । खैरहनी, राप्ती, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा नेकपा एमाले एक्लै बहुमत रहेको छ । माडी नगरपालिकामा बहुमतका लागि दलहरु मिल्नुपर्ने हुन्छ ।

जिल्लाका सात पालिकामा ५०४ जनप्रतिनिधि निर्वाचित भएका छन् । नेकपा एमालेबाट २४६ जनप्रतिनिधि निर्वाचित भएका छन् । जिल्लामा रहेको सात पालिकामध्ये तीन पालिकामा प्रमुख, चार पालिकामा उपप्रमुखसहित २४६ जनप्रतिनिधि जिताउन एमाले सफल भएको छ । वडाध्यक्षमा ३६, महिला सदस्यमा ५६, दलित महिला सदस्यमा ५२ र ९५ जना खुल्ला सदस्यमा नेकपा एमाले विजयी भएको हो ।

यस्तै दोस्रो शक्तिका रूपमा नेपाली कांग्रेस रहेको छ । नेपाली कांग्रेसले दुई पालिकामा प्रमुख, तीन पालिकामा उपप्रमुखसहित २०० जनप्रतिनिधि जितेको छ । वडाध्यक्ष ४०, महिला सदस्य ३५, ३६ दलित महिला सदस्य र ८४ जना खुला सदस्यमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

नेकपा माओवादी केन्द्र जिल्लामा तेस्रो शक्तिको रूपमा रहेको छ । भरतपुर महानगरको प्रमुख, ११ वडाध्यक्ष, तीन महिला सदस्य, नौ दलित महिला सदस्य, ११ जना खुला सदस्य गरी ३५ जना जनप्रतिनिधि माओवादी केन्द्रका निर्वाचित भएका छन् ।

यस्तै चौथो शक्तिको रूपमा राप्रपा आएको छ । राप्रपाबाट ११ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । दुई जना वडा अध्यक्ष, दुई जना महिला सदस्य, एक जना दलित महिला सदस्य, छ जना खुल्ला सदस्य राप्रपाबाट निर्वाचित भएका छन् ।

नेकपा (एकीकृत समाजवादी) पाँचौँ दलको रूपमा रहेको छ । समाजवादीका एक जना प्रमुख, छ जना वडाध्यक्ष, महिला सदस्य दुई जना निर्वाचित भएका छन् । जिल्लामा वडाध्यक्ष स्वतन्त्र उम्मेदवार तीन जना विजयी भएका छन् ।

जिल्लामा रहेको एक मात्र महानगरपालिकामा भने नेपाली कांग्रेस पहिलो शक्तिको रूपमा रहेको छ । भरतपुर महानगरपालिकामा कांग्रेसका ५२ दशमलव ३८ प्रतिशत जनप्रतिनिधि निर्वाचित भएका छन् । नेपाली कांग्रेसले महानगरमा उपप्रमुख र १६ वडाध्यक्ष जितेको छ । वडासदस्यसहित महानगरपालिकामा कांग्रेसका ७६ जना निर्वाचित भएका छन् ।

महानगरमा दोस्रो शक्तिको रूपमा नेकपा एमाले रहेको छ । एमालेका ३४ दशमलव एक प्रतिशत जनप्रतिनिधि निर्वाचित भएका छन् । नेकपा एमालेले छ वडाध्यक्षसहित ५१ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।

यस्तै माओवादी केन्द्रले भरतपुर महानगरमा प्रमुख र तीन वडाध्यक्ष जितेको छ । केन्द्रले छ दशमलव आठ प्रतिशत जनप्रतिनिधि जिताउन सफल भएको छ । वडासदस्यमा पाँच जना विजयी भएका छन् । एकीकृत समाजवादीले तीन वडाध्यक्षसहित पाँच जना जनप्रतिनिधि जिताउन सफल भएको छ । भरतपुर महानगरपालिकामा राप्रपाका चार वडासदस्यका उम्मेदवार विजयी भएका छन् ।

प्रकाशित : मङ्गलबार, जेठ १०, २०७९१९:१५

बालेनले सबैभन्दा बढी मत काठमाडौं महानगरको कुन कुन वडा बाट पाए ?