हेटौंडा । माधव नेपाल नेतृत्वको पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का लागि हेटौंडामा एक महत्वपूर्ण जित प्राप्त भएको छ । वागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा उपमहानगर मेयरमा मीना लामा विजयी हुनुभएको हो ।
सत्तारूढ गठबन्धनबीच चुनावी तालमेल गर्दा एकीकृत समाजवादीले पोखरा महानगर र हेटौंडा उपमहानगरको मेयर पाएको थियो । उपमहानगरमा एकीकृत समाजवादीको साख जोगाएकी लामालाई बधाई दिन अध्यक्ष माधव नेपाल मंगलबार आफैं हेटौंडा आउनुभयो ।
जितपछि उत्साहित उहाँले मंसिरभित्र हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन जित्ने गरी पार्टीका कामहरू अघि बढाउन पार्टीका कार्यकर्तालाई निर्देशन दिनुभयो ।
हेटौंडा एमालेको गढका रूपमा चिनिँदै आएको थियो । त्यसमाथि चुनावमा कमल थापाले एमालेसँग स्पष्ट तालमेल गर्नुभएको थियो । थापाको गृहनगर हेटौंडामा पूर्वपञ्चको पार्टीको राम्रो भोट पाउने एमालेको अपेक्षा थियो । तर, त्यसो भएन ।
विगतमा एमालेबाट चुनाव लडेर उपमेयर बन्नुभएकी लामा यसपटक मेयर चुनिनुभएको छ । एमालेको गढ भत्काउने कांग्रेसको ‘मनोविज्ञानको लाभ’ उहाँलाई प्राप्त भएको देखिएको छ । उपमहानगरको नेतृत्वमा उहाँ एक्लो मेयर हुनुहुन्छ ।
एकीकृत समाजवादी मकवानपुरले हेटौंडा उपमहानगरमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा मतदातालाई धन्यवाद ज्ञापन गर्न आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले भन्नुभयो–‘अब गठबन्धन होला भनेर पर्खेर बस्ने होइन । आँट नभएका मान्छेहरू अहिले नै लम्पसार परे हुन्छ । आँट भएका मान्छेहरू अगाडि बढ्नुपर्छ ।’
-सौर्य दैनिकबाट

