गण्डकी, कास्कीको पोखरा महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य र उपप्रमुखमा नेकपा (एमाले) की मञ्जुदेवी गुरुङ विजयी भएका छन् ।
स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत गत वैशाख ३१ गतेदेखि सुरु भएको मतगणनाको आज बिहान सार्वजनिक गरिएको अन्तिम मतपरिणामअनुसार प्रमुखमा आचार्यले एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतले पराजित गरेका हुन् । आचार्यले ५८ हजार ८९३ मत प्राप्त गर्दा उनका निकटतम् प्रत्यासी थापाले ५२ हजार ८४८ मत ल्याउनुभयो ।
यसैगरी प्रमुखमा राप्रपाका शङ्कर खरालले पाँच हजार ६७४, स्वतन्त्रका खडकराज पौडेलले तीन हजार ३०, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमप्रसाद गुरुङले ५४६ र विवेकशील साझाका सुशीला केसीले ३३८ मत प्राप्त गरे। पोखराको प्रमुखमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २० उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए ।
यसैगरी उपप्रमुखमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गर्दै एमालेकी गुरुङ दोस्रो कार्यकालका लागि विजयी भइन्। गुरुङले ६० हजार ५४६ मत प्राप्त गर्दा उनका निकटतम् प्रत्यासी रानाभाटले ५६ हजार ६६३ मत ल्याइन्।
उपप्रमुखमा राप्रपाका रञ्जनाकुमारी सेन पौडेलले पाँच हजार ६९९, विवेकशील साझाका माधव भण्डारीले २६४ र आमुल परिवर्तन मसिया पार्टीका पदमबहादुर गुरुङले १३४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपप्रमुखमा राजनीतिक दल तथा स्वतन्त्र गरी आठ उम्मेदवार चुनावी मैदानमा थिए ।
पोखरा महानगरका ३३ वडामध्ये कांग्रेसले २३, एमालेले नौ र वडा नं २२ मा स्वतन्त्र उम्मेदवार हिमलाल बराल विजयी भएका छन् । विसं २०७४ को पहिलो स्थानीय तह निर्वाचनमा प्रमुख, उपप्रमुखसहित २२ वडामा एमाले विजयी बनेको थियो ।

