बार्सिलोना र लेवान्डोस्की बीच सहमति, तर बायर्नले थप्यो अड्को !

एजेन्सी – रोबर्ट लेवान्डोस्कीको स्थानान्तरणलाई लिएर बायर्न म्युनिख र बार्सिलोनाबीचको चेस खेल जारी छ। लेवान्डोस्कीको बायर्न छाड्न तयार रहँदा बार्सिलोना र बायर्न भने एक सहमतिमा पुग्न सकेका छैनन्।

विभिन्न स्पेनिस मिडियाहरुले गरिरेको दावी अनुसार लेवान्डोस्की बार्सिलोना जान तयार भइसकेका छन्। उनी र बार्सिलोना बीच एक प्रकारको सहमति नै भैसकेको छ। तर सो विषयमा बार्सिलोना र बायर्न बीच भने सहमति जुट्न सकिरहेको छैन।

हालको अवस्थामा लेवान्डोस्की भित्र्याउने दौडको मुख्य दावेदार बार्सिलोना हो। बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टा र लेवान्डोस्कीका एजेन्ट पिनी जाहावी बीच कयौं पटक भेट भइसकेको छ। लापोर्टा र जाहावी बीच भएको छलफलले लेवान्डोस्कीको पारिश्रमिक समेत तय गरिसकेको छ।

तर लेवान्डोस्कीको विषयमा बार्सिलोना र बायर्न बीच भने कुरा मिलिरहेको छैन। बायर्नले लेवान्डोस्कीका लागि बार्सिलोनाले सोचे भन्दा बढी रकम माग गरिरहेको स्पेनिस मिडियाहरु बताउँछन्। बायर्नले लेवान्डोस्कीका लागि ५० मिलियन युरो माग गरिरहेको छ।

बायर्नले ५० मिलियन युरो माग गरिरहेपनि बार्सिलोना भने लेवान्डोस्कीका लागि ४० मिलियन भन्दा बढी तिर्न मानिरहेको छैन।जर्मन मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने बायर्न ५० मिलियन युरो भन्दा तलको प्रस्ताव हुने हो भने कुराकानी गर्न समेत चाहँदैनन्।

प्रकाशित : बुधबार, जेठ ११, २०७९११:३५

को-को बने टप ५ लिगका च्याम्पियन ? यस्तो रह्यो पूर्ण समिकरण !