काठमाडौँ — एसिया कप छनोट तेस्रो चरणको तयारीलाई नेपाली राष्ट्रिय फुटबल टोली बुधबार कतार गएको छ । यसैक्रममा नयाँ तथ्य बाहिर आएको छ, नेपालले कतार बसाइका क्रममा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ । त्यो टिमोर लिस्टे र ओमानविरुद्ध । यसअघि अफगानिस्तानविरुद्ध खेल्ने कार्यक्रम थियो । त्यो रद्द भइसकेको छ । अब नेपालले नयाँ प्रतिद्वन्द्वी पाएको छ । दुई साताको कतार बसाइपछि नेपाल कुवेत जानेछ ।
अबको एक महिनाभन्दा कम समयमा अखिल नेपाल फुटबल संघ (एन्फा) मा नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदै छ । एन्फाले नै गठन गरेको प्रशिक्षक–खेलाडीबीचको विवाद छानबिन कमिटीले आफ्नो प्रतिवेदन बुझाइसकेको छ । त्यसमा भनिएको छ, मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई एसिया कप छनोटपछि हटाए हुन्छ । प्रतिवेदनमा अल्मुताइरीको यस्तो र उस्तो कमजोरी छ भनेर औंल्याइएको छ । विद्रोही खेलाडीका कमजोरीहरू पनि केलाइएको छ ।
यसबीच प्रशिक्षक स्वयं लामै समय चुपचाप जस्तै रहे । टिमको प्रशिक्षणमा भने लगातार खटिरहे । प्रतिवेदन आएकै दिन उनले कुवेत जाने टिमको घोषणा गरे । त्यसमा उनीसँग विवाद गर्ने १० खेलाडी त थिएनन् नै । यिनै खेलाडीको समर्थन गर्ने नियमित कप्तान तथा गोलरक्षक किरण लिम्बु पनि थिएनन् । यिनै प्रशिक्षक अल्मुताइरी टिमसँग कतार जानुअगाडि भने कान्तिपुरसँग कुराकानी गर्न तयार भए ।
पहिलो प्रश्न थियो, के यो नेपाली मिडियासँग अन्तिम कुराकानी पक्कै हुने छैन ?
उनको जवाफ थियो, ‘भगवान्ले चाहेमा यस्तो हुने छैन ।’ कतार बसाइका क्रममा टिमले के कस्तो गर्ने योजना छ त ? उनले थपे, ‘कतारमा हामीले तीन मैत्रीपूर्ण खेल खेल्नेछौं ।’ त्यसमध्ये दुई खेल त टिमोर लिस्टे र ओमानविरुद्ध भइहाल्यो । अर्को एक खेल को विरुद्ध हुनेछ, त्यो उनले खुलाउन चाहेनन् । यतिमात्र भने, ‘कतार बसाइ निकै छोटो छ, तर त्यहाँ बस्नेक्रममा खेलाडीको फिटनेस उच्च हुनेछ । टिममा के कस्ता समस्या हुनेछ त्यो थाहा हुनेछ ।’
अल्मुताइरीले अब आफ्नो ध्यान काममा मात्र सीमित हुने सुनाए । उनले थपे, ‘म के भन्छु भने नेपाली राष्ट्रिय टिमका प्रत्येक सदस्य राजा हुन् भने म तिनको सेवक हुँ । मेरो काम नै खेलाडीको सेवा गर्ने हो । म मात्र के हो र, पूरा विश्वकै प्रशिक्षकको काम यही हो ।’ उनी के मान्छन् भने प्रशिक्षकले काम गर्दा केही राम्रो हुन्छ, केही नराम्रो हुन्छ । सबै राम्रो र सबै नराम्रो भन्ने हुन्न । उनले थपे, ‘नेपाली प्रशिक्षक भएर मैले पनि केही भुल गरेको छु, विशेषतः भारतविरुद्धको साफ च्याम्पियनसिपको खेलमा ।’
-कान्तिपुर दैनिकमा

