रियललाई लिभरपुल कप्तानको चेतवानी – ‘लिभरपुल पहिला जस्तो छैन’

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले च्याम्पियन्स लिगको फाइनलमामा रियल म्याड्रिडले पहिला भन्दा राम्रो टक्कर पाउने बताएका छन्। एक अन्तर्वार्ताका क्रममा हेन्डरसनले च्याम्पियन्स लिगमा रियललाई पहिला भन्दा कठिन टक्कर दिने बताएका हुन्।

यहि शनिबार राति हुँदै गरेको च्याम्पियन्स लिगको फाइनल बारे कुराकानी गर्नेक्रममा हेन्डरसनले रियलले पहिला भन्दा कठिन टोलीको सामना गर्ने बताए। हेन्डरसनका अनुसार लिभरपुल पछिल्लो च्याम्पियन्स लिग फाइनलको जस्तो छैन।

“म भन्न चाहन्छु कि उनीहरूले फरक लिभरपुलको सामना गर्नेछन्। निश्चित रूपमा उनीहरुले पहिला सामना गरेको भन्दा भिन्न टोलीसँग उनीहरुको सामना हुनेछ।”,हेन्डरसनले भने।

सन् २०१८ को च्याम्पियन्स लिगको फाइनलमा पनि रियल र लिभरपुल आमने-सामने भएका थिए। त्यसबेला लिभरपुल रियलसँग ३-१ को गोल अन्तरले पराजित भएको थियो। सो बारे बोल्दै हेन्डरसनले त्यसयता लिभरपुल धेरै हुर्किसकेको बताए।

उनले भने,”हामीले सन् २०१८ मा फाइनलमा रियल म्याड्रिड खेल्दा त्यहाँ पुग्न धेरै राम्रो मिहिनेत गरेका थियौं। त्यसबेला केटाहरू अविश्वसनीय थिए। तर त्यसयता हामी धेरै हुर्किएका छौँ।”

अन्तर्वार्ताका क्रममा हेन्डरसनले सो फाइनल यता टोलीमा धेरै खेलाडीहरु थपिएको र टोलीले धेरै कुरा सिकिसकेको बताउन समेत छुटाएनन्। उनले थप भने,”नयाँ खेलाडीहरू आएका छन्। त्यसयता हामीले केहि सफलता पनि हाँसिल गरिसकेका छौँ, साथै केहि असफलता पनि। तर हामीले धेरै कुरा सिक्न पाएका छौँ। मलाई पक्कै लाग्छ कि यो केहि वर्ष अघि रियल म्याड्रिडले सामना गरेको भन्दा फरक टोली हो।”

प्रकाशित : शुक्रबार, जेठ १३, २०७९०९:२२

‘काठमाडौं महानगर परिवारको रूपमा छ, परिवार नै रहनेछ’