च्याम्पियन्स लिगमा रियलसँग हारेपनि लिभरपुलले खुशियाली मनाउने, र्याली निकाल्ने !

एजेन्सी – प्रिमियर लिग लिभरपुलका लागि सन् २०२१-२२ को सिजन धेरै नै महत्वपूर्ण रह्यो। गत सिजन च्याम्पियन्स लिगका लागि बल्ल-तल्ल छनौट भएको लिभरपुलले यस सिजन लगभग सबै उपाधिका लागि राम्रो टक्कर दियो।

लिभरपुलले यस सिजन एफए कप र कराबाओ कप जित्दा प्रिमियर लिग उपाधिका लागि पनि अन्तिम खेल सम्म प्रयास गर्यो। प्रिमियर लिगका ३८ खेलमा लिभरपुल मात्रै दुई खेलमा पराजित भयो। म्यानचेस्टर सिटी भन्दा एक अंकले पछाडी पर्दा लिभरपुल प्रिमियर लिग जित्नबाट बिमुख भयो।

लिभरपुल अझै पनि महत्वपूर्ण उपाधिको नजिक छ। यहि शनिबार राति लिभरपुलले च्याम्पियन्स लिगको फाइनलमा रियल म्याड्रिडको सामना गर्दैछ। सो खेलमा जित निकाल्न सके लिभरपुलका लागि सिजनको थप सफल सावित हुनेछ।

तर च्याम्पियन्स लिगको फाइनलको नतिजा जे जस्तो भएपनि लिभरपुलले खुशियाली मनाउने निर्णय गरिसकेको छ। विभिन्न बेलायती मिडियाहरुका अनुसार लिभरपुलले च्याम्पियन्स लिगको फाइनलमा हार-जित जे भएपछि र्याली निकाल्ने भएको हो।

च्याम्पियन्स लिग फाइनलको भोलिपल्ट आइतबार र्याली निकाल्ने तय लिभरपुलले गरेको छ। सो र्यालीमा लिभरपुलको पुरुष फुटबल टोलीका अलावा लिभरपुलको महिला टोली पनि सहभागी हुनेछ।

लिभरपुलको महिला टोली यहि सिजन दोस्रो तहको फुटबल डिभिजनबाट प्रिमियरका लागि प्रमोट भएको छ। त्यसको खुशियाली पनि लिभरपुलले आइतबार मनाउनेछ।

प्रकाशित : शुक्रबार, जेठ १३, २०७९०८:१३

म्याराडोनाको स्मृतिमा विमान सार्वजनिक !