काठमाडौँ – काठमाडाैं महानगरपालिका–६, बौद्धका राजकुमार बराइलीलाई एसएस राजामौली निर्मित हिन्दी चलचित्र ‘बाहुबली’ को दोस्रो भागको प्रतीक्षा अति नै गरेजस्तै लाग्थ्यो। तर उनलाई त्योभन्दा बढी अधीर बनायो काठमाडौं महानगरपालिकाको चुनावी नतिजाले।
‘यो कुनै सिनेमा थिएन तर प्रत्येक पल युद्ध जितेजस्तै भइरहेको थियो,’ बसमा अंकित बाहुबलीको चित्रतर्फ मतदान गरेको बुढी औंलाको चिनो देखाउँदै बराइलीले भने, ‘यतिबेला बालेन्द्र मेरो सपना पुरा गर्ने बाहुबली बनेका छन्।’
हिन्दी चलचित्र ‘बाहुबली’ मा आफ्नो पहिचान खोज्दै आएका अमरेन्द्र बाहुबलीले नयाँ साम्राज्य निर्माण गरेजस्तै पहिचानकै खोजीमा निस्केका बालेन्द्र साहले समानताको नयाँ महानगरपालिका रचना गर्ने उनको विश्वास छ। बराइली मात्र होइन, बहुमत महानगरवासीको विश्वासलाई साकार बनाउँदै स्वतन्त्र उम्मेदवार बालेन्द्र काठमाडौं महानगरको मेयरमा चुनिएका छन्।
कुल खसेको १ लाख ९१ हजार १ सय २५ मतमध्ये ६१ हजार ७६७ मत ल्याएर उनी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत प्राप्त गरिन्। त्यस्तै एमालेबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गरे। अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७७० मत प्राप्त गरेका छन्। उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोल ६८ हजार ६१२ मतसहित निर्वाचित भएकी छन्।
चुनावअघिसम्म निकै कमजोर आकलन गरिएका बालेन्द्रले मतगणनामा अग्रता कायम गरिरहे। अन्य प्रतिस्पर्धीलाई भारी मतान्तरले पछाडि पारेर उनी अघि बढिरहे। नतिजा आउँदै गर्दा उनले २०७४ सालको स्थानीय निर्वाचनका दिन आफ्नो सामाजिक सञ्जालमा लेखेको स्टाटस पनि निकै चर्चित रह्यो।
उनले लेखेका थिए, ‘मैले आज भोट गरिनँ, म उम्मेदवार थिइनँ, मैले सिभिल इन्जिनियरिङमा स्नातक गरें, म स्ट्रक्चरल इन्जिनियरिङको मास्टर्सको आधा बाटोमा छु। मलाई देश बनाउन आउँछ। म अर्कोपटक भोट गर्छु र आफैंलाई भोट दिन्छु। म मेरो देशको विकास गर्छु। मलाई अरू कसैको भर लाग्दैन।’
सबैभन्दा बढी विश्वास आफैंलाई गर्ने बालेन्द्रको चामत्कारिक उदयले सामाजिक सञ्जालमा निकै चर्चा बटुलेको छ। धेरैले उनको नामसँग ‘बाहुबली’ शब्द जोडेका छन्। कतिपयले उनलाई ‘नायक’ सिनेमाको नायकसँग तुलना गरेका छन्। ‘हार्दिक बधाई, सफल कार्यकालको शुभकामना बालेनजी, उपत्यकावासीको मात्रै नभएर सिंगो नेपालीको आशा अब तपाईंमाथि छ,’ सामाजिक सञ्जालमा धर्मनन्द देवकोटा लेख्छन्, ‘परिवर्तनको सुरूवात अब काठमाडौंबाट।’
एमाले नेता योगेश भट्टराईले बालेन्द्रको उदय दलप्रतिको पुरै वितृष्णा नभए पनि यो खतराको घन्टी भने भएको बताएका छन्। ‘जनताले पुरै दललाई नकार्दैछन् भन्ने होइन,’ एक टेलिभिजन अन्तर्वार्तामा उनले भने, ‘तर यसले दलहरूको कमजोरीलाई ढकढकाएको भने छ।’ स्वतन्त्र रूपमा उठेका बालेन्द्रलाई जवाफदेही बन्न मुस्किल हुने तर्क राख्दै राम्रो कामको पक्षमा भने एमालेका उपमेयरदेखि वडाध्यक्षसम्मले सघाउने भट्टराईले बताए।
राजनीतिशास्त्री भने दलहरूलाई सशक्त र जवाफदेही बनाउनेतर्फ ध्यान जानुपर्ने बताउँछन्। ‘दलीय सोचभन्दा पनि माथि उठेर राम्रो काम गर्ने उम्मेदवारलाई चयन गर्दा आफ्नो ठाउँको परिवर्तन हुन्छ,’ राजनीतिशास्त्री चन्द्रदेव भट्ट भन्छन्, ‘यही क्रमबाट बिस्तारै समाज परिवर्तनको बाटोमा जानेछ।’ यसका लागि दलहरूले पनि समाजको हितमा लाग्ने योग्य उम्मेदवारको खोजी गर्नुपर्ने उनले बताए।

