एजेन्सी – फ्रेन्च युवा स्टार किलियन एम्बाप्पे पेरिस सेन्ट जर्मेन(पिएसजी)मै रहने पक्का भइसकेको छ। एम्बाप्पेले सन् २०२५ सम्मका लागि पिएसजीसँगको सम्झौता थप गरेका हुन्।
एम्बाप्पे पिएसजीमै रहने भएपछि क्लबमा के कस्ता परिवर्तन होलान् भन्नेमा सबैको चासो छ। पिएसजीलाई च्याम्पियन्स लिग जित्न सक्ने अवस्थामा पुर्याउने बचन सहित पिएसजीले एम्बाप्पेलाई क्लबमा रहन राजी गराएको बताइन्छ। पिएसजीले फ्रेन्च प्रशिक्षक जिनेदिन जिदान प्रशिक्षकको रुपमा ल्याउने आशा देखाएर पनि एम्बाप्पेलाई क्लबमा अड्याउन सफल भएको फ्रेन्च मिडियाहरु बताउँछन्।
तर पिएसजीको जिदान भित्र्याउने प्रयास भने खासै सफल हुन सक्ने देखिँदैन। जिदान फ्रान्सको राष्ट्रिय टोलीको प्रशिक्षक बन्न कुरिरहेका कारण पिएसजीको प्रास असफल हुने फ्रेन्च मिडियाहरुको दावी छ।
जिदान गत वर्ष रियल म्याड्रिड छाडेयता कुनै पनि क्लबसँग आवद्ध भएका छैनन्। जिदानलाई धेरै क्लबहरुले भित्र्याउने प्रयास गरिरहेका छन्। जसमा पिएसजी पनि छ। तर जिदान पनि कुनै पनि क्लबको जिम्मेवारी लिन तयार देखिँदैनन्।
साथै जिदान मार्सेका समर्थक समेत हुन्। मार्से पिएसजीको सबै भन्दा ठूलो प्रतिद्वन्दी रहेको छ। यस्तोमा जिदान पिएसजी जाने कमै सम्भावना रहन्छ।