बालेनको काँधमा काठमाडौं

काठमाडौं । पुराना र चल्तीका राजनीतिक दलका क्रियाकलापबाट आजित काठमाडौं महानगरका मतदाताले ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको मतदानमार्फत जनविद्रोह गरेका छन् । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

काठमाडौंका मतदाताले राजनीतिक दलका उम्मेदवारलाई पाखा लगाउँदै गैरराजनीतिक रूपमा महानगरको प्रमुख पदमा उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)लाई काठमाडौंको नेता चुनेका हुन् ।

काठमाडौं महानगरका मतदाताको यो मताधिकारको निर्णयसँगै काठमाडौं महानगरको नेतृत्व स्वतन्त्र उम्मेदवार बन्दै निर्वाचित बनेका ३२ वर्षे बालेनको काँधमा पुगेको छ ।

साहले दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गर्दै काठमाडौं महानगरको प्रमुख पदमा निर्वाचित भएका हुन् । साहले ६१ हजार ७ सय ६७ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी कांग्रेकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३ सय ४१ मत पाएकी हुन् ।

शुक्रबार बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौंले काठमाडौं महानगरको प्रमुखमा साह निर्वाचित भएको घोषणा गरेको हो ।

महानगरको प्रमुखमा प्रतिस्पर्धामा रहेकी सिंह गणेशमान सिंहकी बुहारी तथा कांग्रेस नेता प्रकाशमान सिंह पत्नी हुन् । साहले काठमाडौं महानगरको प्रमुखमा एमालेबाट उम्मेदवार बनेका काठमाडौं महानगरका पूर्वमेयर केशव स्थापितलाई तेस्रो स्थानमा रोकिदिए ।

सिंहले ३८ हजार ३ सय ४१ मत र स्थापितले भने ३८ हजार १ सय १७ मत प्राप्त गरेका छन् । स्थापित २०५४ को स्थानीय निर्वाचनमा ८४ हजार बढी मत ल्याएर काठमाडौंको मेयर बनेका थिए ।

निर्वाचित भएको घोषणा लगत्तै उनले आफूले निर्वाचनको परिणामलाई एउटा सुरुवातका रूपमा लिएको बताए । सो क्रममा साहले काठमाडौंलाई विश्वकै सुन्दर सहरका रूपमा स्थापित गर्ने आफ्नो लक्ष्य रहेको स्पष्ट पारे ।

‘आजको दिन सुरुवात हो, जुन निर्वाचनको परिणाम आएको छ, यो हाम्रो कार्यको सुरुवात हुनेछ, अबको पाँच वर्षमा आफ्नो भिजन र एजेन्डालाई पूर्णरूपमा सम्पन्न गर्ने हाम्रो धारणा छ,’ काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख साहले भने ।

उनले अघि थपे, ‘हामी सबै मिलेर काठमाडौंलाई देशको मात्र नभएर विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाउन सबैसँग सहकार्य गर्नेछौं ।’

प्रकाशित : शनिबार, जेठ १४, २०७९०८:३८

ब्याजदर बढाउने तयारी, आयातमा पनि कडाइ गरिने !