रियलले अब देखि एम्बाप्पेलाई बिर्सिदिने पेरेजको घोषणा !

एजेन्सी – युरोपियन च्याम्पियन रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले रियलले किलियन एम्बाप्पेलाई अबबाट बिर्सिने बताएका छन्। च्याम्पियन्स लिगको फाइनलमा लिभरपुललाई पराजित गरेसँगै फ्लोरेन्टिनो पेरेजले एम्बाप्पेलाई रियलले भुलाइदिएको बताएका हुन्।

खेलपश्चात मोभीस्टार प्लससँग कुराकानी गर्नेक्रममा पेरेजले अबबाट फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेलाई रियलले बिर्सिदिने बताए। सिजनभर खेलाडीहरुले गरेको मिहिनेतले च्याम्पियन्स लिग दिलाएको पेरेजको भनाई छ।

“म शान्त र खुसी छु। अहिलेको जस्तो परिस्थितिमा पुग्न हामीले पूरा सिजन कडा परिश्रम गर्यौं। रियल म्याड्रिडले सधैं उत्कृष्ट खेलाडीहरू ल्याउने काम जारी राख्छ। तर आजबाट हामीले एम्बाप्पेलाई बिर्सिदिएका छौँ।”,पेरेजले भने।

सन् २०२१-२२ को सिजनमा रियलले धेरै नै राम्रो खेलेको पेरेज बताउँछन्। पेरेजले राम्रा भन्दा राम्रा क्लबहरु विरुद्ध रियलले राम्रो खेलेको र ठूला-ठूला चुनौतीको सामना गर्दै अहिलेको स्थानमा पुगेको बताए।

उनले भने,”यो वर्ष हामीले राम्रो सिजन बिताएका छौं। हामीले सबै उत्कृष्ट टोलीहरू विरुद्ध खेलेका छौँ। हामीले राम्रा क्लबहरुलाई एकपछि अर्को गर्दै हराएका छौं। यो एकदमै योग्य च्याम्पियन्स लिग हो। हामी यसको हकदार थियौं। यो खेलाडी, प्रशिक्षक र समर्थकहरुका कारण सम्भव भएको हो। थिवाउट कोर्टुवाले पनि धेरै बचाउ गरे। उनी विश्वकै उत्कृष्ट गोलकिपर हुन्।”

प्रकाशित : आइतबार, जेठ १५, २०७९०९:१८

रियलको अग्लो पर्खाल, जसलाई सलाह-माने जस्ता खेलाडीले तोड्न सकेनन् …