एजेन्सी – गए राति स्पेनिस महारथी रियल म्याड्रिड लिभरपुललाई पराजित गर्दै च्याम्पियन्स लिग उपाधि जित्यो। खेलको शुरुवात देखि नै लगातार आक्रमण गरिरहेको लिभरपुल विरुद्ध रियलले १-० को जित निक्लान सफल भएको हो।
खेलभर बलमा रियल भन्दा बढी नियन्त्रण राखेर पनि लिभरपुलले गोल गर्न सकेन। खेलभर लिभरपुलको तर्फबाट कुल २४ प्रहार भएका थिए। जबकी रियलले खेलभर मात्रै चार प्रहार गरेको थियो। लिभरपुलको तर्फबाट भएका ९ प्रहार टार्गेटमा थिए।
तर लिभरपुलको तर्फबाट भएका सबै प्रहारलाई रियलका गोलरक्षक थिवाउट कोर्टुवाले निस्क्रिय पारे। कोर्टुवाले लिभरपुलको तर्फबाट भएका उत्कृष्ट भन्दा उत्कृष्ट प्रहारलाई पनि रोकेका थिए। कोर्टुवा रियलका लागि एक पर्खाल नै सावित भए।
उत्कृष्ट प्रदर्शनका लागि कोर्टुवा म्यान अफ द म्याच समेत घोषित भए। म्यान अफ द म्याचको उपाधि पाएपछि उनले फाइनलमा राम्रो प्रदर्शन गर्न सकेकोमा खुशी लागेको बताए। आफ्नो आलोचना गर्ने धेरैलाई राम्रो प्रदर्शन मार्फत जवाफ फर्काएको उनको भनाई छ।
“मेरो करियरको लागि फाइनल जित्नै पर्ने थियो। मेरो सबै कडा परिश्रमका लागि पनि यो जित आवश्यक थियो। मलाई लाग्दैन कि मलाई पर्याप्त सम्मान गरिन्छ, विशेष गरी इङ्गल्याण्डमा। तर यो प्रदर्शनले पक्कै केहि जवाफ दियो होला।”,कोर्टुवाले भने।
रियल आउनु भन्दा अगाडी कोर्टुवा प्रिमियर लिग क्लब चेल्सीमा थिए। चेल्सीमा उनले खासै राम्रो प्रदर्शन गर्न सकेका थिएनन्। बेलायतमा उनको अलि बढी नै आलोचना हुने गर्थ्यो।
कोर्टुवा च्याम्पियन्स लिगको फाइनलमा म्यान अफ द म्याच घोषित हुने तेस्रो खेलाडी हुन्। सन् २०२१-२२ को च्याम्पियन्स लिगको सिजनमा कोर्टुवाले कुल १४ खेल खेले। जसमा उनले ६१ गोल बचाए।