काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थभन्त्री जनार्दन शर्माले पेश गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा नेपाल विद्युत् प्राधिकरणको साधारण शेयर प्रिमियम मूल्यमा सर्वसाधारणका लागि जारी गरिने उल्लेख छ ।
अर्थमन्त्री शर्माले शेयर विनिवेशबाट प्राप्त रकम जलाशययुक्त आयोजना निर्माण र ऊर्जा पूर्वाधारमा लगानी गर्ने बताउनुभयो । शेयर जारी गर्ने प्रयोजनका लागि नेपाल विद्युत् प्रधिकरणको क्रेडिट रेटिङ यसअघि नै सम्पन्न भइसकेको छ ।
वैदेशिक रोजगारीमा गएकालाई आईपीओमा लगानी सुनिश्चित गरिने
वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूलाई धितोपत्र बजारमा लगानी गर्न आईपीओमा १० प्रतिशत लगानी सुनिश्चित गरिने भएको छ ।
आइतबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूलाई धितोपत्र बजारमा लगानी गर्न आईपीओमा १० प्रतिशत लगानी सुनिश्चित गरिने बताएका हुन् । त्यस्तै गैरआवासीय नेपालीलाई धितोपत्र बजारमा लगानी गर्न कानुनी व्यवस्था मिलाउने पनि बताए ।