काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले वृद्धभत्ता नलिने घोषणा गरेका छन्। अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरेको बजेटका बारे प्रतिक्रिया दिनेक्रममा भट्टराईले वृद्धभत्ता नलिने घोषणा गरेका हुन्।
सरकारले ६८ वर्षको उमेर पुगेकालाई वृद्धभत्ता दिने भएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले ६८ वर्ष उमेर पुगेकालाई सामाजिक सुरक्षाभत्ता दिने जानकारी दिए।
सरकारको सो निर्णयलाई भट्टराईले अनावश्यक भने। सामाजिक सुरक्षाभन्दा एकीकृत प्रकारको सामाजिक सुरक्षा आएको भए राम्रो हुन्थ्यो भन्ने भट्टराईको भनाई छ।
“म पनि ६८ वर्ष पुग्दै छु । घटाउन आवश्यक थिएन । सामाजिक सुरक्षाभन्दा एकीकृत प्रकारको सामाजिक सुरक्षा आउनुपर्थ्यो। यो पुरानै ढंगले आयो । वृद्धभत्ता मैले पनि पाउने भएँ । जनतामा बोझ थोपर्न चाहन्नँ । म नलिने घोषणा गर्न चाहन्छु ।”,भट्टराईले भने।
हाल ७० वर्ष पुगेकालाई सामाजिक सुरक्षा भत्ता दिँदै आएकोमा सरकारले अब आगामी आर्थिक वर्षदेखि ६८ वर्ष उमेर पुगेकालाई नै दिने व्यवस्था गरेको हो ।