काठमाडौं, काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृत काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार खतिवडाले मेयर साहलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
मेयर साहले सुरुमा नेपाली भाषामा सपथ लिएका थिए भने त्यसपछि नेपाल भाषामा सपथ लिएका थिए । त्यस्तै, नवनिर्वाचित उपमेयर सुनिता डंगोलले समेत पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छिन् ।
उपमेयर डंगोललाई मेयर साहले सपथ ग्रहण गराएका हुन् । उपमेयर डंगोलले भने नेपाल भाषामै सपथ लिएकी हुन् । मेयर साहले नेपाली भाषामा सपथ ग्रहण गराउँदा डंगोलले नेपाल भाषामा सपथ लिएकी हुन् ।
मेयर साहले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित वडाध्यक्ष, नगर कार्यसमिति सदस्यहरूलाई समेत पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।
मेयरको पहिलो निर्णय
सपथ लिएपछि मेयर बालेन साहले नगरसभाको बैठक लाइभ गर्ने निर्णय गरेका छन्। साहले पहिलो निर्णयको रुपमा नगरसभाको बैठक लाइभ गर्ने निर्णय गरेका हुन्। साहले यस अगाडी नै आफू मेयर निर्वाचित भएपछि नगरसभाको बैठक लाइभ गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।
नगरसभाको पहिलो बैठक सोमबार ४ बजे बोलाइएको छ। त्यस्तै साहले काठमाडौंको फोहोर व्यवस्था नभएसम्म खादा–माला नलगाउने घोषणा समेत गरे। काठमाडौँको फोहोरका कारण सिसडोलवासीले दुख पाइरहेको हुँदा त्यसको छिट्टै समाधान गर्न तर्फ आफू लाग्ने बालेनको भनाई छ।
उनले भने,”हामीले गरेको पापको भोगी उहाँहरु हुनु भएको छ । हाम्रो फोहोरले गर्दा सिसडोलवासी क्यान्सर पीडित हुनु भएको छ, छालाको रोग भएको छ । त्यत्रो मान्छे मरिरहनु भएको छ । यो शोक मनाउने बेला हो । फोहोर व्यवस्थापन नभएसम्म, सिसडोलवासी स्वच्छ वातावरणमा बस्ने वातावरण नभएसम्म, बाँच्न पाउने अधिकार नभएसम्म अरु नगर्ने भनेका छौं ।”

