लेवान्डोस्कीले भने – ‘बायर्न म्युनिखसँग मेरो कथा समाप्त भयो’

एजेन्सी – पोलिस स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले बायर्न म्युनिखमा आफ्नो समय सकिएको बताएका छन्। एक अन्तर्वार्ताका क्रममा लेवान्डोस्कीले म्युनिखमा आफ्नो समय सकिएको बताएका हुन्।

घरेलु तथा च्याम्पियन्स लिग सकिएपछि आफ्नो देश फर्किएका लेवान्डोस्कीले आफू बायर्नमा रहन असम्भव जस्तै रहेको बताए। लेवान्डोस्कीका अनुसार उनले क्लब छाड्दा दुवै पक्षलाई राम्रो हुन्छ। क्लब र आफू बीच थप सहकार्य हुने अवस्था नरहेको लेवान्डोस्कीको भनाई छ।

लेवान्डोस्कीले पछिल्ला महिनाहरुमा क्लब र आफू बीच त्यति राम्रो सम्बन्ध नरहेको संकेत पनि गरे। पछिल्ला महिनाहरुमा भएका घटनाहरुले आफू बायर्नमा बस्न नसक्ने लेवान्डोस्कीको संकेत छ।

“अहिलेसम्म यो निश्चित छ कि बायर्न म्युनिखसँग मेरो कथा समाप्त भएको छ। पछिल्ला महिनाहरुमा जे भएका छन्, म क्लब र म बीच थप सहकार्य हुन सक्ने देखिदिन। मलाई लाग्छ कि ट्रान्सफर दुबै पक्षका लागि उत्तम हुनेछ।”,लेवान्डोस्कीले भने। लेवान्डोस्कीले आफूलाई बायर्नले जबर्जस्ति क्लबमा नराख्ने आशा पनि व्यक्त गरे। उनले भने,”मलाई विश्वास छ कि बायर्नले मलाई (जबरदस्ती) रोक्दैन।”

लेवान्डोस्कीले यहि समर ट्रान्सफर विन्डोमा बायर्न छाड्ने उच्च सम्भावना छ। बायर्न छाडेको खण्डमा उनी बार्सिलोना पुग्न सक्छन्। गएको केहि समय देखि बार्सिलोनाले लेवान्डोस्कीलाई लगातार सम्पर्क गरिरहेको छ।

जर्मन मिडियाहरु त लेवान्डोस्कीका एजेन्ट र बार्सिलोना बीच एक प्रकारको मौखिक सहमति समेत भइसकेको छ। लेवान्डोस्कीको विषयमा दुई पक्ष बीच पटक-पटक छलफल भइसकेको र ३ वर्षका लागि मौखिक सहमति भएको जर्मन मिडियाहरु बताउँछन्।

प्रकाशित : मङ्गलबार, जेठ १७, २०७९१०:१३

फाती माथि पिएसजीको नजर, तर फातीको भने जीवनभर बार्सिलोनाबाट खेल्ने चाहना !