बाटो बिराएपछि उचाइ लिँदा चट्टानमा ठोक्कियो, विमान टुक्रा-टुक्रा हुँदा जल्न पाएन !

काठमाडौँ – १९ यात्रु र चालक दलका तीन सदस्यसहित २२ जना बोकेर तारा एयरको ९एन एइटी, डिएचसी–६, ट्विनअटर विमान आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उड्यो। यो विमानका लागि पोखरा–जोमसोम उडान समय १८ मिनेट हो। विमान जोमसोममा १०ः१३ बजे अवतरण गर्नुपर्ने थियो तर अवतरण गर्न ६ मिनेट बाँकी छँदै सम्पर्कविहीन बन्यो।

सम्पर्कविहीन भएलगत्तै बाटो बिराएको विमान करिब १३ हजार ५ सय फिटको उचाइको हिमाली खोंचको चट्टाने पहरोमा ठोक्किन पुग्दा क्षतविक्षत अवस्थामा फेला परेको छ। विमानमा यात्रा गरिरहेका यात्रु र चालक दलमध्ये २१ जनाको शव फेला परेको छ।

एकजना अझै हराइरहेको प्रहरीले बताएको छ। चट्टानमा ठोक्किएर खोंचमा विमान खसेकाले उद्धार र शव निकाल्न कठिनाइ भएको प्रहरीले बताएको छ। विमानमा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली, चारजना भारतीय र दुईजना जर्मन नागरिक गरी २२ जना रहेका थिए।

आइतबार बिहान हराएको यो विमानको दिनभर खोजी गर्दा पनि पत्तो लागेको थिएन, विभिन्न अड्कलबाजी मात्र गरिएको थियो। त्यही अड्कलबाजी अनुसार खोज्दै जाँदा सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ ल्याङखु खोलाको मुहाननजिकै सानोसरेको पहाडमा ठोक्किएर चकनाचुर अवस्थामा विमान फेला परेको थियो।

पोखराबाट उडान भरेको १२ मिनेटपछि विमान सम्पर्कविहीन भएको थियो। विमानको अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग १० बजेर ७ मिनेट जाँदा घोरेपानीको आकाशबाट सम्पर्क भएको थियो, त्यसपछि विमानबारे पत्तो लागेको थिएन। ताराको विमान क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। को–पाइटल उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिए।

पोखरा टावरले जोमसोम टावरलाई विमान हस्तान्तरण गरेपछि लेतेको आकाशबाट एकपटक सम्पर्क गरेर विमान जोमसोम भ्याली छिरेको बताएर सम्पर्कविहीन भएको थियो। विमान सम्पर्कविहीन भएपछि जोमसोम विमानस्थलले पोखरालाई जानकारी गराएको थियो। सोमबार बिहान विमान फेला पारेलगत्तै स्थानीयले उद्धार सुरु गरेका थिए।

जोमसोम विमानस्थलका अनुसार सम्पर्कविहीन हुनुअघि विमान कमान्ड गरेका क्याप्टेन प्रभाकर घिमिरेले लेतेमाथिको आकाशबाट जोमसोम विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरसँग हावाको गतिको विवरण मागेका थिए।

जोमसोमको हावाको विवरण माग्दा ताराको जहाज १२ हजार ५ सय फिटको उचाइमा रहेको घिमिरेले बताएका थिए। जोमसोम विमानस्थल ९ हजार फिट उचाइमा छ। तर, हावाको विवरण दिएलगत्तै सम्पर्कविहीन भएको विमान झन् बढी उचाइमा पुगेर चट्टानमा बजारिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीको भनाइ छ।

प्राधिकरणका एकजना पदाधिकारी भन्छन्, ‘जोमसोम विमानस्थलसँग सम्पर्क टुटेलगत्तै विमान बायाँ मोडिएर पहाडमा ठोक्किन पुगेको देखिन्छ। सम्पर्कविच्छेद हुनासाथ विमानले बाटो बिराएको अनुमान छ।’ ती पदाधिकारीका अनुसार ताराको यो विमानभन्दा तीन मिनेटअगाडि यही रुटमा समिट एयरको विमान थियो। समिटको विमान पोखराबाट ९ बजेर ५२ मिनेटमा उडेको थियो, ताराको ९ बजेर ५५ मिनेटमा उडेको थियो

‘तीन मिनेटअगाडिको विमान सकुशल जोमसोम पुग्यो तर पछिपछि गएको ताराको विमानले सम्पर्क गुमाएपछि बाटो बदल्यो,’ ती पदाधिकारीले भने, ‘तीन मिनेटको अन्तरमा मौसममा बदली आएको पनि हुनसक्छ वा हावाको झड्कामा पनि परेको हुनसक्छ।’ तीन मिनेटको अन्तरमा दुईवटा विमानमध्ये पछाडिको विमानलाई मात्र अप्ठ्यारो आएको उनले बताए। ‘सम्पर्क टुटेपछि विमानले सन्तुलन गुमाएर उचाइ बढाएको हुनसक्ने अनुमान छ। तर, त्यो सबै अध्ययन टिमले बताउनेछ,’ उनले भने।

यो विमानले पोखरा–जोमसोम रुटको अप्ठ्यारो खण्ड भने पार गरिसकेको थियो। अप्ठ्यारो खण्ड पार गरेर जोमसोमसँग एकपटक सम्पर्कमा आएपछि विमानको सम्पर्क टुटेको थियो। ‘अप्ठ्यारो खण्ड पार गरिसकेकाले सम्पर्कविहीन हुनुमा त्यो कारण होइन,’ उनले भने, ‘तर विमानले दिशा परिवर्तन गर्दै उचाइ लिएको देखिन्छ। मौसमको खराबीले मात्र यो सबै नहुन सक्छ।’

-नागरिक दैनिकबाट

प्रकाशित : मङ्गलबार, जेठ १७, २०७९०८:२९

विमान दुर्घटना हुनुको कारण के हो ? यस्तो आयो प्रारम्भिक विश्लेषण !