गठबन्धनको फुट टर्यो, एमालेलाई फाइदा भएको निष्कर्ष !

काठमाडौँ – सत्तारुढ पाँच दलले शीर्ष नेताहरूबीच भएको सहमतिअनुसार तल्लो तहसम्म चुनावी तालमेल हुन नसक्दा स्थानीय तहको निर्वाचनमा त्यसको लाभ विपक्षी एमालेसहितका दलले उठाएको निष्कर्ष निकालेका छन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार बसेको शीर्ष नेताहरूको बैठकले सत्ता गठबन्धनमा रहेका दलहरूबीच समझदारी गर्दै अघि बढ्ने सहमति गरेका हुन्।

‘केन्द्रमा जुन भावनाका साथ स्थानीय तह निर्वाचनमा दलहरूबीच तालमेल गर्ने सहमति भएको थियो, त्यसअनुसार स्थानीय तहमा तालमेल हुनसकेन,’ कांग्रेस नेता रामचन्द्र पौडेलले भने, ‘केन्द्रको स्प्रिटअनुसार तालमेल हुनसकेको भए निर्वाचन परिणाम अहिलेको भन्दा धेरै राम्रो हुने थियो।’ गठबन्धनमा रहेका राजनीतिक दलका आ–आफ्ना महत्वाकांक्षा र दाबीले धेरै स्थानीय तहमा तालमेल हुन नसकेको भन्दै बैठकमा सहभागी नेताहरूले त्यसबारे व्याख्या गरेका थिए।

तर, जति स्थानीय तहमा चुनावी तालमेल भएका छन्, त्यसले सकारात्मक परिणाम दिएको गठबन्धनको निष्कर्ष छ। चुनावी तालमेलले एउटा दललाई मात्र नभएर सत्ता साझेदार सबैलाई केही न केही फाइदा पुगेको धारणा राख्दै पौडेलले भने, ‘गठबन्धनबीच तालमेल भएको ठाउँमा राम्रै परिणाम आएको छ।

गठबन्धनमा सबैका लागि राम्रै भएको छ।’ राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले पनि गठबन्धन मूलभूत रूपमा सफल भएको निष्कर्ष निकालिएको जानकारी दिइन्। ‘स्थानीय निर्वाचनका लागि हामीले गरेको निर्णय हुबहु लागु गर्न पाएको भए धेरै सफल भइन्थ्यो,’ उनले भनिन्, ‘केही कमीकमजोरी भयोे। त्यसका बाबजुद पनि गठबन्धन सफल रह्यो भन्ने बैठकको निष्कर्ष छ।’ बैठकमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूले स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले दम्भ देखाएको भन्दै असन्तुष्टि जनाएका थिए।

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा ६ महानगरपालिका, ११ उपमहानगरपालिकासहित झन्डै २८ प्रतिशत स्थानीय तहमा चुनावी तालमेल गरेका गठबन्धनका दलले अपवादबाहेक सफलता हासिल गरेका छन्। हालसम्म सार्वजनिक भएका ७ सय ५२ स्थानीय तहमध्ये कांग्रेसले ३ सय २९ तहको प्रमुख जित्दै प्रमुख दल बनेको छ।

२०७४ को निर्वाचनबाट ठूलो दल बनेको एमाले दोस्रो दलमा खुम्चन पुगेको छ। उसले २ सय ५ स्थानीय तहको प्रमुख जितेको छ भने माओवादी केन्द्रले १ सय २१, जनता समाजवादी पार्टीले ३०, एकीकृत समाजवादीले २० र जनमोर्चाले ४ पालिका प्रमुख जितेको छ।

आफ्ना उम्मेदवारलाई कांग्रेस र माओवादी केन्द्रबाट आवश्यक सहयोग नभएको भन्दै उनीहरूले गुनासो गरेका थिए। तर, जवाफमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आफू र आफ्नो दल सत्ता गठबन्धनमा रहेका कुनै पनि पार्टीलाई धोका दिने पक्षमा नरहेको भन्दै आश्वस्त पारेका थिए।

प्रकाशित : मङ्गलबार, जेठ १७, २०७९०९:०४

बुवा–छोरा बीच भएको त्यो अन्तिम अडियो कल ….