काठमाडौँ – चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा चार वर्षअघि ल्याइएको टोमोथेरापी मेसिन सञ्चालनबिनै अमेरिका फिर्ता पठाइने भएको छ। अमेरिकाबाट खरिद गरी ल्याउने कम्पनीले नै टोमोथेरापी फिर्ता लैजान लागेको युनिफाइड कोभिड अस्पतालका रुपमा रहेको वीरका निमित्त प्रशासकीय अधिकारी डा. भूपेन्द्र बस्नेतले बताए। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।
क्यान्सरका बिरामीका लागि रेडियोथेरापी दिने उद्देश्यले चार वर्षअघि लाइफलाइन इन्टरनेसनल नामक बिक्रेता कम्पनीले यो उपकरण ल्याएको थियो। यो उपकरणका लागि नेपाल सरकारले ४० करोड रुपैयाँ भुक्तानी गरेको थियो। अस्पतालका तत्कालीन निर्देशक डा. भूपेन्द्र बस्नेत, प्रतिष्ठानका उपकुलपति डा. गणेश गुरुङ र स्वास्थ्य तथा जनसंख्या मन्त्री गगन थापाको कार्यकालमा यो उपकरण खरिद गरिएको थियो।
क्यान्सरका बिरामीलाई रेडियोथेरापी दिन यो उपकरण अत्याधुनिक मानिन्छ। यो उपकरण नेपाल आएपछि सञ्चारमाध्यमले क्यान्सरका बिरामीलाई देशबाहिर जानुपर्ने बाध्यता टरेको समाचार सम्प्रेषण गरेका थिए। उपकरण भित्रिएलगत्तै अस्पतालले पुरानो रेडियोथेरापी उपकरण हटाएर बंकर निर्माण प्रक्रिया अघि बढाएको थियो।
वीर अस्पतालमा उपकरण राख्ने ठाउँ अभाव भएपछि सुरक्षाका लागि भन्दै सशस्त्र प्रहरी अस्पताल बलम्बुमा राखिएको थियो। सोमबारसम्म यो उपकरण अस्पताल हातामै रहेको सशस्त्र प्रहरी बल अस्पताल बलम्बुले जनाएको छ।
क्यान्सर विशेषज्ञहरूले टोमोथेरापीले सिटिस्क्यान गर्दै थेरापी गर्न मिल्ने र रेडियोलोजीबाट निस्कने विकिरणले क्यान्सर फैलिएका मात्र कोष मार्ने तर अरू कोषिकालाई असर नपार्ने भएकाले यो उपकरण उपचारमा आधुनिक र लाभप्रद रहेको जनाएका थिए। यो उपकरण किनेर ल्याएको तीन वर्षपछि जडान गर्न सम्बन्धित कम्पनीबाट इन्जिनियरको टोली नेपाल आएको थियो। उक्त टोली उपकरणमा पानी पसेको भन्दै जडान नगरी फिर्ता गएको थियो। सोही टोलीले उपकरणमा पानी पसेकाले सट्टामा अर्को उपकरण दिने बताएको अस्पतालका प्रशासकीय अधिकारी डा. बस्नेतले बताए।
‘कमजोरी हाम्रातर्फबाट छैन, पहिलाकै मूल्यमा अर्को दिन्छौं भनेका छन्,’ डा. बस्नेतले भने। फिर्ता पठाएलगत्तै जुलाईभित्र सोही डिजाइनको उपकरण ल्याइदिने बिक्रेताले जनाएको उनले जानकारी दिए।