इंगलिस क्लब लिभरपुलक अ लागि भर्खरै मात्र समाप्त भएको २०२१-२२ सिजन निकै उत्कृष्ट प्रदर्शन गरेपनि उपाधिको हिसाबले भने त्यति खास रहेन। जर्मन प्रशिक्षक जर्गन क्लोपको नेतृत्वमा रहेको टोलीले सिजनमा प्रतिस्पर्धा गरेको प्रतियोगिताका खेल्न सक्ने हरेक एक खेलेको थियो।
लिभरपुल यस सिजन कारबो कप र एफए कप जित्न सफल हुँदा च्याम्पियन्स लिगको फाइनलमा पनि प्रतिस्पर्धा गरेको थियो। त्यस्तै, प्रिमियर लिगको ३८ खेल खेलेको थियो। सिजनमा सम्भावित हरेक खेल खेलेको लिभरपुलले हरेक प्रतियोगितामा निकै उत्कृष्ट प्रदर्शन गरेको थियो। घरेलु प्रतियोगिताको कुरा गर्दा एफए कप र काराबो कप लिभरपुलले जितेको छ। दुबै प्रतियोगितामा फाइनल खेलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै जितेको थियो।
त्यस्तै, सिजनको अन्तिम हप्ता भने मर्सीसाइड क्लबका लागि त्यति सुखद रहेन। २०२१-२२ सिजनको अन्तिम दुई खेल बाँकी रहँदासम्म लिभरपुलको नजरमा ऐतिहासिक क्वाडरुपलमा रहेको थियो। पहिले नै काराबो कप र एफए कप जितेको लिभरपुलका अन्तिम दुई खेलमा दुई उपाधिको निर्णय हुने तय थियो। प्रिमियर लिगको अन्तिम खेलसम्म पुगेको उपाधि दौडमा रेड्स म्यानचेस्टर सिटीसँग एक अंकले पछि पर्यो। प्रिमियर लिग सिजनको अन्तिम खेलमा लिभरपुलका लागि च्याम्पियन बन्नको लागि आफ्नो अन्तिम खेलमा वुल्भ्स विरुद्धको खेल जितेर साबित विजेता सिटीले एस्टन भिल्ला विरुद्ध अंक गुमाउनु पर्ने स्थिति रहेको थियो।
क्लोपको टोलीले वुल्भ्सलाई ३-१ गोल अन्तरले पराजित गर्न सफल भयो। तर पूर्व लिभरपुल स्टार स्टेभेन जेरार्डको टोली भिल्लाले म्यानचेस्टर सिटीलाई निकै कडा टक्कर दिएपनि पराजित भने गर्न सकेन। सिटी विरुद्धको खेलको ७५ औं मिनेटसम्म भिल्ला २-० गोलले अगाडी रहेको थियो। तर सिटीले निकै उत्कृष्ट पुनरागमन गर्दै खेल ३-२ ले जित्नुका साथै लगातार दोस्रो पटक र विगत ५ वर्षमा ४ पटक प्रिमियर लिगको उपाधि जित्दा लिभरपुलको क्वाडरुपलको सपना समाप्त भएको थियो।
यसका बाबजुद पनि रेड्ससँग यस सिजन कप ट्रेबल गर्ने मौका आफ्नै हातमा रहेको थियो। च्याम्पियन्स लिग फाइनल खेलमा रियल म्याड्रिडलाई पराजित गरेको खण्डमा लिभरपुलले कप ट्रेबल गर्न सक्थ्यो। तर त्यो पनि हुन सकेन, २९ मे मा पेरिसमा भएको फाइनल खेलमा रियल म्याड्रिडले लिभरपुललाई १-० ले पराजित गर्दै १४ औं पटक युइएफए च्याम्पियन्स लिगको उपाधि जित्यो।
यसरी, सिजनको अन्तिम हप्तासम्म क्वाडरुपलको सपना देखेको लिभरपुल अन्तत: काराबो कप र एफए कपको उपाधि मै सिमित भयो।