गत सिजनबाट नै फ्रेन्च युवा स्टार किलियन एम्बाप्पे स्पेनिस क्लब रियल म्याड्रिड आउने चर्चाले ट्रान्सफर बजार तातेको थियो। म्याड्रिले पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग मात्र एक वर्ष सम्झौता रहेका २३ वर्षीय स्टारलाई क्लब भित्र्याउन २०० मिलियनसम्मको प्रस्ताव राखेको थियो। तर पेरिस क्लबले म्याड्रिडको उक्त अफर अस्विकार गरेको थियो।
त्यसपछि पनि एम्बाप्पे भर्खरै समाप्त भएको सिजनपछि नि:शुल्क रूपमा स्पेनिस राजधानी आउने धेरैले अनुमान लागएका थिए। सिजनको अन्त्यसम्म पनि पीएसजीका विभिन्न अफर अस्विकार गर्दै आएका एम्बाप्पे म्याड्रिड आउनेमा सबै विश्वास रहेका थिए। तर केही हप्ता अगाडी मात्र कहानी पूरै परिवर्तन भयो जब एम्बाप्पेले पेरिस मै अझै ३ वर्ष बस्ने निर्णय गरे।
च्याम्पियन्स लिग फाइनल खेल हुनु केही दिन अघि मात्र एम्बाप्पेले दिएको यस्तो धोकाले रियल म्याड्रिडका थुप्रै खेलाडीहरु प्रतिक्रिया दिन सामाजिक सञ्जालमा उत्रिएका थिए। एम्बाप्पेको धोकाको केही दिन भित्र नै म्याड्रिड १४ औं पटक युरोपियन च्याम्पियन्स लिगको विजेता बन्न सफल भयो। एम्बाप्पे कै शहर पेरिसमा भएको खेलमा लिभरपुललाई १-० ले पराजित गर्दै म्याड्रिड च्याम्पियन बनेको हो।
पूर्व मोनाको स्ट्राइकरले गरेको निर्णयले धोका महशुस गरेका म्याड्रिड खेलाडी तथा समर्थकको घाउको मलम बन्ने काम गर्यो च्याम्पियन्स लिग उपाधिले। यस्तोमा, १४ औं पटक युरोपियन च्याम्पियन बनेपछि क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले एम्बाप्पेको बारेमा आफूलाई कुनै मतलब नभएको समेत बताएका थिए।
“आज, एम्बाप्पेको अस्तित्व छैन,” च्याम्पियन्स लिग जितेपछि रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले भनेका थिए। क्लबको फ्रन्ट लाइनको बारेमा सोध्दा, पेरेजले स्पोर्टलाई भने, “हरेक वर्ष हामी कसैलाई भित्र ल्याउने प्रयास गर्छौं, तर यो फर्वार्ड लाइन सुधार गर्न गाह्रो छ।”
एम्बाप्पे आएको भए उक्त सुधार हुने बारे प्रश्न गर्दा उनले भने, “आज, एमबाप्पे अवस्थित छैन, रियल म्याड्रिड अवस्थित छ, यो रियल म्याड्रिड र उनीहरूका खेलाडीहरूको लागि पार्टी हो, जो युरोपका च्याम्पियनहरू छन्।”
उनले अब आफू १५ औं उपाधि हाँसिल गर्न तर्फ लाग्ने समेत बताएका थिए। आफनो प्रमुख लक्षित खेलाडी गुमाएपछि ट्रान्सफर बजारमा म्याड्रिड निकै आक्रामक तरिकाले उत्रिने सबैले अपेक्षा गरेका छन्। अब रियल म्याड्रिड बिना किलियन एम्बाप्पे नै आफ्नो भविष्य बारे सोच्ने धेरैले अनुमान लागएका छन्।