एजेन्सी – फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेको लफडा सल्टाएपछि पेरिस सेन्ट जर्मेन(पिएसजी)लाई आनन्द भएको छ। गएको दुई वर्ष भन्दा बढी समय देखि टाउको दुखाइको विषय बनेको एम्बाप्पेको सम्झौता। तर एम्बाप्प्पे केहि वर्ष क्लबमै रहने निर्णय गरेपछि अब पिएसजीले त्यसबारे सोच्न पर्नेछैन।
पिएसजीको ध्यान अब च्याम्पियन्स लिग जित्ने थप बलियो टोली निर्माणमा केन्द्रित छ। पिएसजीले क्लबमा विभिन्न परिवर्तन गर्ने तयारी गरिरहेको छ। क्लबमा रहेका केहि खेलाडीहरुलाई बिक्री गरेर थप राम्रा खेलाडी ल्याउन पिएसजी चाहन्छ।
विभिन्न फ्रेन्च मिडियाहरुका अनुसार पिएसजी ब्राजिलियन स्टार नेयमारलाई बिक्री गर्न चाहन्छ। सन् २०२१-२२ को सिजन खासै प्रभावकारी भूमिका निभाउन असमर्थ नेयमारलाई सक्दो छिटो बिक्री गर्ने पिएसजीको तयारी रहेको फ्रेन्च मिडियाहरुको दावी छ।
हालको अवस्थामा नेयमारले पिएसजीमा झन्डै ३० मिलियन युरो पारिश्रमिक पाउँदै आएका छन्। प्रदर्शनका आधारमा नेयमारका लागि सो पारिश्रमिक धेरै उच्च रहेको पिएसजीको निष्कर्ष रहेको छ।
पिएसजीले बिक्री गर्न चाहेपनि नेयमारलाई लिग वानका खासै क्लबहरुले किन्न सक्ने अवस्था भने छैन। नेयमारलाई यदि कसैले किन्न सक्छ भने ती प्रिमियर लिग क्लब हुन्। नेयमारलाई बिक्री गर्ने पिएसजीको योजना के कति सफल हुन्छ भन्ने चाहिँ समयले नै बताउनेछ। नेयमारलाई बिक्री गर्न सकेको खण्डमा स्पेनिस क्लब भिल्लारियलका अर्नाउट डन्जुमालाई भित्र्याउने पिएसजीको योजना रहेको बताइन्छ।