बालेन–हर्क विरुद्ध तानावाना, फेल गराएर एक वर्ष भित्र राजीनामा !

काठमाडौं । अन्त जहाँसुकै जिते पनि राजधानीमा हारेका कारण राजनीतिक दलहरूले सर्वस्व हारेको अनुभूत गरेका छन् । उनीहरूलाई थाहा छ, स्वतन्त्र उम्मेदवार बालेन साहको जितले दलका दम्भी नेताहरू दाबी गर्ने गरिएजस्तो लोकप्रिय नभएको प्रमाणित भएको छ । डा. सुन्दरमणि दिक्षितसँगको कुराकानीका आधारमा नेपाल समाचारले प्रकाशित गरेको छ।

पद, पावर र पैसाको बलमा मत पाइन्छ भन्ने आडम्बर चकनाचूर भएको छ । उनीहरूको असफलताका प्रमाण बनेर काठमाडौंमा बालेन साह, धरानमा हर्क साम्पाङ राई, जनकपुरमा मनोजकुमार साह र धनगढीमा गोपाल हमाल उभिएका छन् । दलले जनतालाई ढाँटेको जीवित प्रमाण अगाडि उभिएको देख्दा त्यसका आडम्बरी नेताहरू बौलाएका छन् ।

जनताको अमूल्य मतको सम्मान गर्दै नेताहरूले स्वतन्त्र बनेर विजय हासिल गरेका बालेन–हर्कहरूसँग सहकार्य गर्ने, उनीहरूलाई सघाउने र सफल पार्ने सोच राख्नुपर्ने थियो । तर, स्वतन्त्र जनप्रतिका कदम–कदममा खाल्डो खन्ने दुस्प्रयास उनीहरूबाट हुँदै छ । हिजो, बालेन–हर्कहरूको जमानत जफत हुन्छ, जिते भने नाङ्गै सडकमा दौडिन्छु, देश छोड्छुजस्ता दम्भी टिप्पणी गर्नेहरू यतिखेर ‘भेडाबाख्राको भोटले जितेको’ भनेर होच्याउन थालेका छन् । उनीहरूलाई भोट दिए सज्जन मानव हुने नदिए भेडाबाख्राजस्ता जनावर हुने विवेकहीन तर्क गर्न उनीहरूलाई लाज लागेन ।

अहिले उनीहरू ‘स्वतन्त्रहरू काम गर्न नसकेर बीचमै राजीनामा दिएर रुँदै हिँड्छन्’ भन्न थालेका छन् । यी यस्ता अभिव्यक्ति हुन् जसले दलका दम्भी नेता र कार्यकर्ताहरूको छातीभित्र बलेको ज्वाला देखाउँछ ।

उनीहरू साँच्चिकै मर्माहत भएका छन्– आफ्नो पराजय भएकोमा भन्दा पनि स्वतन्त्र उम्मेदवार जसले कसैलाई गाली नगरी चुनाव जितिदियो । दिनरात एक–आपसमा तुच्छ गाली र आरोप लगाएर नथाक्ने दलका नेताका प्रिय पात्रहरू स्थानीय निर्वाचनमा पराजित भए । कसैलाई गाली नगर्नेहरूले जिते । दलका नेताहरूको गालीगलौज शैली त पराजित भयो नि ।

दलका उम्मेदवारको पराजय उनीहरूकै व्यवहारका कारण भएको हो । जनतालाई आकाश–पातालका आश्वासन दिने, रेल र पानीजहाजका सपना देखाउने, समृद्ध नेपाल र सुखी नेपालीको कल्पना गराउने तर व्यवहारमा भ्रष्टाचारलाई प्रोत्साहन गर्ने, महँगी बढाउने, योग्यलाई भन्दा कमिसन र चन्दा दिने व्यक्तिलाई कुर्सी दिलाउने व्यवहारका कारण दलका उम्मेदवारहरूले चुनाव हारेका हुन् ।

पद, पावर र पैसाले जे पनि हुन्छ भन्ने मान्यता पराजित भएको हो । निर्मला पन्तदेखि एयर बस, सुन, बालुवाटार जग्गा आदि काण्ड कहिल्यै नसुल्झाउने प्रवृत्ति असफल भएको हो ।

स्वतन्त्र उम्मेदवारले दलको यही व्यवहारलाई सिकाइको पहिलो पाठ बनाउनुपर्छ । धेरै नबोल्नुस्, धेरै आश्वासन दिने– यो पनि गर्छु, त्यो पनि गर्छु कहिल्यै नभन्नुस् । रोडम्याप बनाएर काम गर्नुस्, महिना, दुई महिना, तीन महिना, अर्धवार्षिक, वार्षिक समयावधि तोकेर के काम कसरी गर्ने भन्नुहोस्, अफिसमा क्यालेन्डर बनाएर वर्कप्लान र त्यसको प्रगति सार्वजनिक गर्नुहोस् । काम हुन नसके त्यसको कारण खुलाउनुहोस् ।

प्रकाशित : बिहिबार, जेठ १९, २०७९०८:३७

कांग्रेससँग प्रचण्डलाई शंका नै शंका !