लिङ्गार्ड युनाइटेडबाट आउट, अब यी दुई मध्ये एक क्लबमा जाने !

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडको एकेडेमीका ग्रेजुएट जेसी लिङ्गार्डले क्लब छाड्ने भएका छन्। युनाइटेडसँगको सम्झौता सकिएसँगै लिङ्गार्डले फ्री एजेन्टका रुपमा क्लब छाड्ने भएका हुन्।

सम्झौता सकिएलगतै लिङ्गार्ड फ्री एजेन्ट हुनेछन् र उनले अब विश्वका कुनै पनि क्लबसँग आफू अनुरुप सम्झौता गर्न सक्नेछन्। युनाइटेडले लिङ्गार्डसँगको सम्झौता थप नहुने र सम्झौता सकिएपछि उनले क्लब छाड्ने आधिकारिक रुपमै पुष्टि गरेको छ। युनाइटेडले बुधबार एक विज्ञप्ति नै जारी गर्दै सो बारे जानकारी गराएको हो।

“म्यानचेस्टर युनाइटेडले पुष्टि गर्न सक्छ कि जेसी लिङ्गार्डले जुनको अन्त्यमा सम्झौताको म्याद सकिएपछि क्लब छोड्नेछन्।”,म्यान युनाइटेडको आधिकारिक वेबसाइटले विज्ञप्ति जारी गर्दै भनेको छ।

लिङ्गार्ड झन्डै २० वर्ष देखि युनाइटेडमा थिए। सन् २००१ मा उनले अन्डर ९ टोलीमा सामेल भएयता उनी निरन्तर युनाइटेडमा थिए। उनी युनाइटेडको युवा एकेडेमी मार्फत सिनियर टोलीमा पुगेका थिए। सन् २०१५-१६ को सिजनमा उनले युनाइटेडका लागि महत्वपूर्ण भूमिका निभाएका थिए। सो सिजन उनले युनाइटेडका लागि ४० खेल खेलेका थिए।

उनले अहिले सम्म युनाइटेडका लागि कुल २ सय ३२ खेल खेलेका छन्। जसमा उनले ३५ गोल गरेका छन्। लिङ्गार्ड माथि अहिले वेस्ट ह्याम र न्यूकासलको नजर रहेको छ। लिङ्गार्डका लागि दुई क्लब बीच कडा प्रतिष्पर्धा हुने आंकलन गरिन्छ।

प्रकाशित : बिहिबार, जेठ १९, २०७९०९:४४

इटालियन डिफेन्डरको हंश निकाल्दै फाइनालिसिमा उडाए मेस्सीले