काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) नेपालका अध्यक्ष कमल थापाले सालिक राखेर राजा नफर्किने बताएका छन्। बिहिबार पूर्वराजा विरेन्द्र शाहको सालिक राख्ने विषयमा झडप भएपछि थापाले सामाजिक संजाल मार्फत सालिक राख्दैमै राजा नफर्किने बताएका हुन्।
बिहिबार बिहान नेपालगञ्जको वीरेन्द्रचोकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताले पूर्वराजा विरेन्द्रको सालिक राखेका थिए। त्यसको केहि बेरमै सो सालिक प्रहरीले हटाएको थियो। जसकारण प्रहरी र राप्रपाका कार्यकर्ता बीच झडप भएको थियो। स्थिति तनाबपूर्ण बन्ने देखिएसँगै प्रहरीले हवाइ फायरसमेत गरेको थियो।
त्यस विषयमा आफ्नो धारणा राख्दै आन्दोलनको रापतापमा राजालगायत विपी,भानुभक्त समेतको सालिक तोडफोड हुनु गलत रहेको बताएका छन्। त्यस्तै राजा वीरेन्द्रको सालिक भएको ठाउँमा सालिक राख्दा अवरोध गर्ने कार्य पनि ठिक नभएको भन्दै थापा आपत्ति पनि जनाएका छन्।
“आन्दोलनको रापतापमा राजालगायत विपी,भानुभक्त समेतको सालिक तोडफोड गरियो। त्यो गलत थियो। नेपालगञ्जमा जहाँ पहिले राजा वीरेन्द्रको शालिक थियो त्यहाँ अहिले शालिक राख्न खोज्दा सरकारले अवरोध गर्नु ठीक भएन। शालिक राखेर राजा फर्कने होइन, इतिहासको सम्झना हो। लोकतन्त्र यति असहिष्णु हुनुहुन्न।”,थापाले सामाजिक संजालमा लेखेका छन्।