एजेन्सी – खेलको अन्त्यतिर परिवर्तित खेलाडी रिकार्डाे होर्टाले गोल गरेपछि पोर्चुगल पोर्चुगलले युइएफए नेसन्स लिग ए ग्रुप २ को खेलमा हारबाट जोगिएको छ ।
पोर्चुगलले एक गोलले पछि परेको स्थितिमा घरेलु टोली स्पेनसँग १–१ गोलको बराबरी खेलेको हो । सेभिलमा बिहीबार राति भएको खेलमा घरेलु टोली स्पेनका अल्भारो मोराटाले गोल गर्दा पोर्चुगलका रिकार्डाे होर्टाले बराबरी गोल फर्काए ।
नियमित कप्तान क्रिस्टियानो रोनाल्डोबिना खेलको सुरुवात गरेको पोर्चुगलविरुद्ध खेलको सुरुवातदेखि नै बल पोसेसेन राख्दै दवाव बढाएको स्पेनले २५औं मिनेटमा मोराटाको गोलबाट अग्रता लिएको थियो । उनले पाब्लो सारावियाको पासमा गोल गर्न सफल भएका थिए ।
तर, स्पेनले त्यो अग्रतालाई दोस्रो हाफमा जोगाउन सकेन । एक गोलले पछि परेको पोर्चुगलले दोस्रो हाफमा कप्तान रोनाल्डोलाई मैदान छिराएपछि खेलमा पकड बनाउन सफल भएको थियो । परिवर्तित खेलाडी रिकार्डाे होर्टाले गोल गर्दै पोर्चुगललाई हारबाट जोगाए ।
७२औं मिनेटमा राफयल लियोको स्थानमा मैदान छिरेका रिकार्डाे होर्टाले मैदान छिरेको १० मिनेट अर्थात ८२औं मिनेटमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले जोओ क्यान्सेलोको पासमा गोल गर्न सफल भएका थिए ।
यो बराबरीपछि लिग ए ग्रुप २ मा दुवै टोलीले समान एक अंक जोडेका छन् । गोल अन्तरमा पोर्चुगल दोस्रो तथा स्पेन तेस्रो स्थानमा रहेको छ ।
यही समूहको अर्काे खेलमा चेक रिपब्लिकले स्वीट्जरल्यान्डलाई २–१ ले पराजित गरेको छ । चेकको जितमा जान कुचताले एक गोल गर्दा एक गोल उपहार पाएको थियो । स्वीट्जरल्यान्डका नोआ ओकाफोरले एक गोल फर्काए ।
यो नतिजापछि चेक समूहमा ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । अंकविहीन स्वीट्जरल्यान्ड पुछारमा रहेको छ ।