फ्रान्सको अपराजित यात्रामा पूर्णविराम, डेनमार्कले तह लगायो !

एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा विश्व विजेता फ्रान्सले युइएफए नेसन्स लिग ए ग्रुप १ को पहिलो राउन्डको खेलमा हार बेहोरेको छ । फ्रान्स घरेलु मैदानमा २–१ ले पराजित भएको हो ।

पेरिसमा शुक्रबार राति भएको खेलमा डेनमार्कको जितमा एन्ड्रिएस कोर्निलिअसले दुई गोल गरे । करिम बेन्जेमाको गोल सान्त्वना बन्यो ।

प्रतिस्पर्धात्मक बनेको खेलको सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो । ५१औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । उनले क्रिस्टोफोर एनकुुकुको पासमा गोल गर्न सफल भएका थिए । तर, त्यो अग्रतालाई फ्रान्सले जोगाउन सकेन ।

६८औं मिनेटमा एन्ड्रिएस कोर्निलिअसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले पिएरे इमिल होब्जजर्गको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि निर्धारित समयको खेल सकिन दुई मिनेट बाँकी रहँदा एन्ड्रिएस कोर्निलिअसले व्यक्तिगत र टोलीको लागि दोस्रो गोल गर्दै घरेलु टोली फ्रान्सलाई स्तब्ध पारे । उनले यसपटक जोआकिमको पासमा गोल गर्न सफल भएका थिए ।

योसँगै फ्रान्सको २० खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागेको छ । फ्रान्स ११ नोभेम्वर २०२० मा फिनल्यान्डसँग २–० ले पराजित भएयता २० खेलमा अपराजित रहेको थियो । त्यसअघि फ्रान्स २८ जुन २०२१ मा स्वीट्जरल्यान्डसँग टाइब्रेकरमा पराजित भएको थियो ।

प्रकाशित : शनिबार, जेठ २१, २०७९०८:४२

बार्सिलोनामा स्याल, नेदरल्यान्ड्सबाट खेल्दा बाघ: चम्किए डिपाए !