बार्सिलोनामा स्याल, नेदरल्यान्ड्सबाट खेल्दा बाघ: चम्किए डिपाए !

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका फरवार्ड मेम्फिस डिपाए चम्कदा नेदरल्यान्ड्सले युइएफए नेसन्स लिग ए ग्रुप ४ को पहिलो राउन्डको खेलमा सानदार जित हात पारेको छ ।

डच टोलीले घरेलु टोली बेल्जियममाथि ४–१ को सानदार जितहात पारेको हो । ब्रसेल्समा शुक्रबार राति भएको खेलमा डच टोलीको जितमा मेम्फिस डिपाएले दुई तथा स्टेभन वर्गवाइन र डेन्जेल डेम्फ्रेजले समान एक गोल गरे । घरेलु टोलीका मिचे बात्सुयाईले एक गोल फर्काए ।

खेलको ४०औं मिनेटमा स्टेभन वर्गवाइनको गोलबाट पाहुना टोली नेदरल्यान्ड्सले सुरुवाती अग्रता लिन सफल भएको थियो । उनले फ्रान्की डि जोङको पासमा गोल गर्न सफल भएका थिए । दोस्रो हाफमा ११ मिनेटको अन्तरमा तीन गोल गर्दै नेदरल्यान्ड्स सहज जिततर्फ अग्रसर बनेको थियो ।

५१औं मिनेटमा मेम्फिसले वर्गवाइनको पासमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । ६१औं मिनेटमा डेन्जेल डम्फ्रेजले डाले ब्लिन्डको पासमा गोल गरेपछि टोली खेलमा ३–० ले अघि बढ्यो । ६५औं मिनेटमा ब्लिन्डकै पासा डिपाएले व्यक्तिगत दोस्रो तथा टोलीका लासग चौथो गरेपछि नेदरल्यान्ड्स फराकिलो जिततर्फ अग्रसर बन्यो ।

७७औं मिनेटमा बेल्जियमका टिमोथी कास्टाग्नेले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । त्यसपछि इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा मिचे बात्सुयाईले टोवी एल्डरवेरेल्डको पासमा गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याएपनि हार टार्न सकेन ।

यो जितसँगै नेदरल्यान्डले समूहमा एक खेलबाट ३ अंक जोडेको छ । बेल्जियमा पुछारमा छ । पोल्यान्डको पनि ३ अंक नै रहेपनि दोस्रो स्थानमा रहेको छ । वेल्सले पनि अंक जोड्न सकेको छैन ।

प्रकाशित : शनिबार, जेठ २१, २०७९०९:०६

सेनेगलको सानदार जित, मानेले बनाए कीर्तिमान !