एजेन्सी – बार्सिलोना र ओस्मान डेम्बेले लगातार संवादमा छन्। सम्झौता थपको विषयलाई टुंगो लगाउन दुवै पक्ष निर्णायक छलफलमा जुट्ने तयारी गरिरहेका छन्। गत सिजन डेम्बेलेलाई जसरी पनि बेच्ने तयारीमा रहेको बार्सिलोना अहिले आएर भने डेम्बेलेलाई जसरी पनि क्लबमै अड्याउने पक्षमा देखिएको छ।
डेम्बेले र बार्सिलोनाको सम्झौता जुन ३० मा सकिँदै छ। सम्झौता सकिनु अगाडी नै सम्झौता थप गराउने बार्सिलोनाको तयारी रहेको छ। विभिन्न स्पेनिस मिडियाहरुका अनुसार सम्झौता सकिने दिन आउँदै गर्दा बार्सिलोनाले डेम्बेलेलाई नयाँ प्रस्ताव गरेको थियो। तर बार्सिलोनाको तर्फबाट भएको प्रस्तावमा डेम्बेले सहमत हुन सकेनन्। डेम्बेलेले सो प्रस्ताव अस्विकार गरेसँगै बार्सिलोनाले नयाँ प्रस्ताव अगाडी सार्ने तयारी गरिरहेको छ।
बार्सिलोनामा डेम्बेलेको भविष्य अनिश्चित देखिँदा युरोपका विभिन्न क्लबहरु डेम्बेलेलाई भित्र्याउने दौडमा देखिएका छन्। यति बेला डेम्बेले पेरिस सेन्ट जर्मेन(पिएसजी), लिभरपुल, बायर्न म्युनिखको नजरमा रहेका छन्। यी तीनै क्लबले डेम्बेले पक्षलाई सम्पर्क गरेको बताइन्छ।
हालसालै आएको अर्को एक खबरलाई मान्ने हो भने प्रिमियर लिग क्लब चेल्सी पनि डेम्बेलेलाई भित्र्याउन चाहन्छ। बोरुसिया डर्टमुन्डमा चेल्सीका प्रशिक्षक थोमस टुचेल र डेम्बेले सँगै काम गरिसकेका कारण चेल्सी डेम्बेले भित्र्याउन इच्छुक देखिएको बेलायती मिडियाहरुको दावी छ। बेलायती मिडियाहरुका अनुसार चेल्सीले डेम्बेलेलाई चार वर्षे सम्झौताको प्रस्ताव गरेको छ।