एजेन्सी – फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेलाई क्लबमै अड्याउन सफल भएपछि पेरिस सेन्ट जर्मेन(पिएसजी) यति बेला नयाँ खेलाडी र नयाँ प्रशिक्षकको खोजिमा जुटेको छ।
एम्बाप्पेका अलावा नेयमार र लियोनेल मेस्सी जस्ता खेलाडी हुँदा समेत च्याम्पियन्स लिग जित्न नसकेको पिएसजीले टोलीमा विभिन्न परिवर्तनहरु गर्ने योजना बनाएको छ। त्यसको लागि पिएसजी केहि खेलाडी भित्र्याउन चाहन्छ। साथै प्रशिक्षक पनि परिवर्तन गर्ने पिएसजीको योजना रहेको बताइन्छ।
माउरिसियो पोचेटिनोलाई हटाएर नयाँ प्रशिक्षक ल्याउने योजना पिएसजीको नयाँ होइन। कयौं महिना देखि पिएसजीले नयाँ प्रशिक्षक खोजि गरिरहेको छ। पिएसजीको मुख्य प्राथमिकतामा जिनेदिन जिदान छन्।
पिएसजीले जिदानलाई झन्डै एक वर्ष देखि पछ्याइरहेको छ। पिएसजीले जिदानलाई कयौं पटक पिएसजीको जिम्मेवारी लिन आग्रह गरिसकेको छ। तर जिदान पिएसजी जान जान त्यति इच्छुक देखिएका छैनन्।
जिदान भित्र्याउने योजना असफल हुन लागेपछि पिएसजी नयाँ विकल्प तर्फ लागेको छ। फ्रेन्च मिडियाहरुका अनुसार पछिल्लो समय पिएसजीको ध्यान जोसे मोरिन्हो तर्फ केन्द्रित भएको छ।
पिएसजीका अधिकारीहरुले छिट्टै नै मोरिन्होसँग कुराकानी गर्ने तयारी गरिरहेको टेलिग्राफले जनाएको छ। टेलिग्राफले गरेको दावी अनुसार पिएसजीका अधिकारीहरु मोरिन्होसँग विस्तृत छलफल गर्ने तयारीमा छन्।